बझाङमा एक सुत्केरी महिला र शिशुको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी खिना बोहराको बीच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको हो । उनको उमेर २२ वर्षको मात्र थियो र पहिलो सन्तानलाई जन्म दिंदै थिइन् ।
बच्चा जन्माउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको केदास्युँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए ।
‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालको लागि लगिएको रहेछ ’ उनले भने ‘अस्पतालसम्म पुग्न नपाउँदै बच्च जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’ खिनालाई अघिल्लो दिनदेखि नै सुत्केरी व्यथाले च्यापेको रहेछ । तर उनले कतै हारगुहार गरिनन् ।
उनका श्रीमान् उमेश बोहरा भारत छन् । घरमा सासू ससुरासँग रहेकी खिनालाई हिजो साँझबाटै व्यथा सुरु भएको थियो । बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासूले छिमेकी लिएर उनलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको लागि हिँडाएका थिए । निकै समस्या हुँदा पनि उनलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो ।
उनले कसैलाई व्यथा लागेको कुरा कसैलाई खबर गरिनन्,’ गाउँपालिका अध्यक्ष बोहराले भने, ‘घरमा सासू ससुरा पनि वृद्ध भएकाले उनले चुपचाप व्यथा सहेको हुनुपर्छ ।’
असह्य पीडा भएपछि उनले राति १२ बजेतिर सासूलाई खबर गरिन् । राति कहाँ जाने, कसलाई भन्ने उनीहरुले मेसो पाएनन् । बिहान तीन बजे मात्र सासूले अर्की छिमेकीलाई साथ लिएर स्वास्थ्यचौकीतर्फ लागे । उनको घरबाट स्वास्थ्य चौकी गाडीमा आधा घण्टामा पुग्न सकिने अध्यक्ष बोहराले बताए ।
त्यसको करिब डेढ घण्टापछि उनले बाटामा नै बच्चा जन्माएकी थिइन् । बाटो मै शिशुको जन्म भएपछि उनका अभिभावकहरूले जनप्रतिनिधि पदम प्रसाद भट्टलाई सम्पर्क गरेका थिए ।
वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमल कुमार मल्ललाई घटनाबारे जानकारी गराएपछि त्यहाँ एम्बुलेन्स ,उपचार सामाग्रीसहित टोली पुगेको थियो । तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिए ।
‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो तर पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ ’ उनले भने ‘ निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ ।’
‘स्वास्थ्य चौकीमा उनी त्यसअघि आठ पटक स्वास्थ्य जाँच गराउन गएकी रहिछन्,’ बोहराले भने, ‘त्यहाँकी अहेबले उनलाई व्यथा लाग्नासाथ फोन सम्पर्क गर्नु भनेका रहेछन् । तर उनले खबर गरिनन् ।’
समयमा अस्पतालसम्म पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी तथा गर्भवतीको मृत्यु हुने गरेको छ ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो