भारतले ढाल्नै चाहेपनि कांग्रेस-एमाले सरकार ढल्दैन: मुख्यमन्त्री पाण्डे

भारतले ढाल्नै चाहेपनि कांग्रेस-एमाले सरकार ढल्दैन: मुख्यमन्त्री पाण्डे

जनमतको हिसाबले यो सबैभन्दा बलियो सरकार

cm pandey

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस-एमाले सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन् ।

देशको आवश्यकताअनुसार वर्तमान सरकार बनेको दाबी गर्दै उनले त्यसै सरकार नढल्ने बताएका हुन् । भारतले चाहेर पनि सरकार नढल्ने उनको दाबी छ । यद्यपि यसअघि भारतले चाहेर कहिले सरकार ढलेको थियो भन्नेबारे भने उनले खुलाएनन् ।

लमजुङ सदरमुकाम बेंसीसहरमा आइतबार आयोजित गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, तहगत सम्बन्ध तथा आयोजना बैंकसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आवश्यकताअनुसार कांग्रेस–एमाले मिलेर सरकार बनाएको र जनमतको हिसाबले यो सबैभन्दा बलियो सरकार बनेको बताए ।

‘कांग्रेस–एमालेको अहिलेको सरकार भोलि ढल्छ रे, पर्सि ढल्छ रे, फेरि बिग्रिन्छ रे भन्ने सुनिरहनुभएकै छ । यति बलियो सरकार छ । शेरबहादुर देउवा र केपी ओलीले नचाहे पनि ढल्छ ?’ उनले भने, ‘कतिपयले भन्छन्, इन्डियाले चाह्यो भने ढल्छ रे । सबै कुरा इन्डियाले चाहँदैमा कहाँ हुन्छ र ? हामीले हाम्रो परिस्थितिअनुसार गर्ने हो ।’

वर्तमान सरकारले केही नयाँ काम दिन नसके जनताको थप निराशा छाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘अब हाम्रो अहिलेको सरकारले पनि गर्न सकेन भने जनता झन् निराश हुन्छन् । इमान्दारितापूर्वक सकेको प्रयत्न सबै तहको सरकारले गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले संघीय सरकारले पठाउने ५–७ लाखको योजना प्रदेश सरकारले लागू नगर्ने बताए । ‘गत वर्षदेखि नै हामीले कार्यान्वयन गरेनौं । अहिले पनि यस्तै तवरको बजेट आएको छ, हामी कार्यान्वयन गर्दैनौं,’ उनले भने । उनले ३० वर्षअघि गर्नुपर्ने काम अहिले गरिरहेको बताए । केन्द्रीय सरकारले बजेट कम दिँदा प्रदेश सरकार र स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो परेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds