भाइरल बाल कलाकार सचिन परियारको निधन

भाइरल बाल कलाकार सचिन परियारको निधन

भाइरल कन्टेन्ट बनाएर डलर झार्नेका लागि ‘हटकेक’ थिए, बाबुबाटै दुरूपयोग !

Sachin-Pariyar

सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियारको निधन भएको छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई पुस १३ गते महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा बिहान साढे १० बजेतिर निधन भएको हो ।

सचिनको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो।

याे दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो। उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र अचानक हृदयाघात भयो। सोही कारण आज (पुस १८ गते) बिहान १० बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको शिक्षण अस्पतालले जानकारी दिएको छ।

युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ पनि देखिएका थिए ।

सामाजिक सञ्जालबाट चर्चामा आएका सचिनले केही समय चर्चासँगै सबैको माया पाए । ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठासपूर्ण बोली धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो ।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो । पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तान्यो । सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’ मा पनि हिट बने ।

सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए । टिकटक बनाए । उनलाई टेलिभिजन कार्यक्रममा बोलाइयो । म्युजिक भिडियोमा सचिनलाई खेलाउने होडबाजी नै चल्यो । सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे । पछि सचिन गुमनाम बने, माग्दै हिँडेको भेटिन्थे ।

उनै सचिन अहिले अस्ताएका छन् । सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

हर्मोनको असन्तुलनले उनको शारीरिक विकास राम्रोसँग भएन । १४ वर्ष पुगिसक्दा पनि उचाइ अपेक्षाकृत रूपमा बढेन । त्यसमाथि नसासम्बन्धी समस्या थियो । केही महिनाअघि उनी लामो समय अस्पतालमा उपचार गरी घर फर्केका थिए । अस्पतालको सम्पूर्ण खर्च उनलाई माया गर्ने ‘अडियन्स’ ले पठाएका थिए ।

चर्चित हुँदा उनले स्कुल भर्ना त पाए तर नियमित जान पाएनन् । कतिसम्म भने सुत्न र खानसमेत राम्ररी पाउँदैनथे उनले । यसको समेत नकारात्मक प्रभाव उनको स्वास्थ्यले बेहोरेको थियो । जानकारहरूका अनुसार, निदाऊला भनेर बालक सचिनलाई पानी छम्किँदै सुटिङमा राखिन्थ्यो । ८ घण्टा पनि सुत्न दिइँदैनथ्यो उनलाई । मेला महोत्सवमा डुलाउने नाममा बुबा तेजेन्द्रले हप्तौँसम्म स्कुल जानबाट रोक्थे ।

सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गौशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई ‘रेस्टिकेट’ गरिदियो । सचिन मात्र होइन, सोही बोर्डिङमा होस्टेल बसेर पढ्ने उनकी बहिनी सोनियाको समेत पढाइ छुट्यो ।

पढ्न मात्र होइन, खान पनि समयमा पाउँदैनथे सचिनले । दिनमै चारवटासम्म सुटिङमा प्रयोग गरिन्थ्यो । एक समय युट्युब वा सांगीतिक भिडियोमा सचिनको फोटो मात्र राख्दा पनि ट्रेन्डिङमा आउने विश्वास गरिन्थ्यो । त्यसैले भाइरल कन्टेन्ट खोजेर पैसा कमाउनेहरूका लागि उनी ‘हटकेक’ थिए । एक अबोध बालकको जीवन यति विघ्न व्यस्त र अरुबाट नियन्त्रित थियो ।

तम्घासको सिलाइ मेसिन थन्क्याएर काठमाडौंमा फ्ल्याट लिई बस्न थालेका तेजेन्द्रले नै बालक छोरालाई दुहुनो गाई बनाएको आरोप लाग्ने गरेको छ । तेजेन्द्रले तम्घासमै सहज जीवनयापन गर्न सकून् भनेर उनलाई सचिनकै शुभचिन्तकले नयाँ मेसिन किनिदिएका थिए । तर, सचिनको हेरचाह गर्ने भन्दै उनी त्यो मेसिन थन्क्याएर काठमाडौं आए । अनि छोराको नाममा आएको पैसासमेत रसरमाइलोमा उडाए । मेला, महोत्सवमा लैजाने नाममा पढाइ पनि छुटाइदिए ।

छोराको उपचारका लागि आएको रकमसमेत दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ । यद्यपि, यस्तो आरोपलाई उनले इन्कार गर्दै आएका छन् । युट्युबमा उनी अन्टसन्ट गरी चर्चामा आउने प्रयास गरिरहेका देखिन्छन् । कुनै बेला दुई दिनको भोको छु भनेर चन्दाका लागि हारगुहार गर्ने उनको ठाँट अहिले बेग्लै छ ।

तेजेन्द्र अचेल कहिले करोडौंको गाडी किनेको दाबी गर्छन् भने कहिले दोहोरी साँझको मालिक भएको बताउँछन् । बुबा तेजेन्द्रले समेत दोस्रो बिहे गरेपछि सचिनलाई मावलीले आफैँसँग राखेर पढाइरहेका थिए । उनको मावलीघर बागलुङको गल्कोट हो । काठमाडौं आउनुअघि सचिन गल्कोट माविमा २ कक्षामा पढ्थे । उनको गाउँचाहिँ गुल्मीकै मुसिकोट नगरपालिका– ९, ददल्का हो । बुबा तेजेन्द्र पुतलीबजारमा टेलरिङ पसल खोलेर बसेकाले छुट्टी हुँदा सचिन उतै जाने गरेका थिए ।

लकडाउनका कारण स्कुल बन्द हुँदा उनी तम्घास गएका थिए । एक दिन अर्घाखाँची पार्कमा खेलिरहेका उनीसित कसैले छोटो कुराकानी गरी टिकटकमा हालिदिएको भिडियो ‘भाइरल’ बनेपछि युट्युबरले उनलाई खोज्न थाले अनि उनी भाइरल भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ