पर्यटकीय राजधानीको सडक, ताल र किनारमा महोत्सवको रौनक

गुलजार पोखरा

पर्यटकीय राजधानीको सडक, ताल र किनारमा महोत्सवको रौनक

sadak mahotsav 2081 (1)

पोखरामा यतिबेला जमिन, पानी र हावामा महोत्सव भइरहेको छ । लेकसाइडमा सडक महोत्सव, फेलातालमा ड्रागन वोट रेस र फेवाताल फाँटमा बेलुन महोत्सव चलिरहेको छ ।

नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ ।

लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ ।

गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाकिसहितको तामझाम, कला कौशलको प्रस्तुति र हजारौँको सङ्ख्यामा उपस्थित स्वदेशी र विदेशी नागरिकको सहभागिताले पोखराको पर्यटनलाई जुरुक्कै उचालेको छ ।

महोत्सवको उद्घाटन सत्रमा आयोजित झाँकिसहितको र्यालीमा प्रदर्शित ‘मगर गाउँ’, थारु नृत्य, गुरुङ समुदायको विशेष प्रस्तुति विशेष आकर्षण रहे । महोत्सवको सन्दर्भमा लेकसाइड क्षेत्र दुलही झैं सिगारिएको छ । साज सजावटले सडकको रौनक बढाएको छ ।

सडक महोत्सवले पोखराको मात्रै नभइ समग्र देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुगिरहेको छ । महोत्सवमा जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकीको प्रस्तुति गरिएको थियो ।

साथै स्थानीय रैथाने उत्पादन, हस्तकलाका सामग्रीलगायतका स्टल पनि पर्यटकको रोजाइमा परेका छन् । २५ वर्ष अगाडि सुरु भएको पोखरा सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुँदै आएको रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखरा बताउँछ ।

खासगरी पर्यटकीय गतिविधि कम हुने यो सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रुपमा चिनाउन रेबान पोखराले २५ वर्षअघिदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । त्यसैको निरन्तरतास्वरुप २६औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना गरिएको हो ।

अङ्ग्रेजी महिनाको डिसेम्वर २८ देखि जनवरी १ तारिकसम्म आयोजना हुने पोखरा सडक महोत्सवमा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा रेबान पोखराको छ ।  आजभन्दा २५ वर्षअघि पोखराको बसुन्धरा पार्कबाट सुरु भएको पोखरा सडक महोत्सव आज देशकै ठूलो सडक महोत्सवको पहिचान बनाएको छ । 

रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो । यही पुस १७ सम्म चल्ने महोत्सवले अफ सिजनको पर्यटनलाई चलायमान बनाउन र अर्थतन्त्रमा धोरै भए पनि योगदान गर्ने बताइन्छ ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषासमेत प्रदर्शन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवको रुपमा रहदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ सम्ब्याउन सहयोगीसिद्ध भएको छ । गत वर्षमात्र पाँच लाख स्वतदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेबानले जनाएको छ । पोखरामा दर्ता भएका पर्यटकस्तरदेखि पाँचतारेसम्मका आठ सय हाराहारी होटल छन् । यी पूर्वाधारमा ५० हजार पर्यटकलाई धान्नसक्ने क्षमता रहेको पर्यटन व्यवसायीको भनाइ छ । काठमाडौँ ओर्लिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटक आएका छन् । सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय उत्वस र प्रतियोगिताले यसवर्षको महोत्सवलाई उल्लासमय बनाएको छ ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पोखरामा आइतबारदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ ।

यस्तै, नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पर्यटन प्रवद्र्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन वोट रेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दोस्रो संकरणको ड्रागन वोट रेसमा नेपालका ११, चीनका ८ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds