लेकसाइडमा ‘स्ट्रीट फेस्टिवल’ सुरू, प्रहरीले ड्रोनबाट निगरानी गर्ने

२६ औं पोखरा सडक महोत्सव

लेकसाइडमा ‘स्ट्रीट फेस्टिवल’ सुरू, प्रहरीले ड्रोनबाट निगरानी गर्ने

पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ

sadak mahotsav 2081 (4)

तस्वीर सौजन्यः युवराज श्रेष्ठ

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ ।

पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे ।

त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित र्‍याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्‍यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो ।

तस्वीर सौजन्यः युवराज श्रेष्ठ

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको महोत्सव संयोजक भट्टराईले बताए ।

साथै, कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

‘अहिले नै बेलुन फेस्टिबल चलिरहेको छ । ड्रागन बोट हुँदैछ । अनि सडक महोत्सव भइहाल्यो । यसरी ३ वटै महोत्सव एकै पटक किन गरेको ?,’ उनले भने, ‘फरकफरक मितिमा गरेको भए तीनै पटक पर्यटक आउने, त्यती पटक नै व्यवसाय बढ्थ्यो । त्यही भएर पर्यटन प्रवर्द्धन हुने काम मिलेर गर्नुपर्‍यो । पर्यटनको विकासका लागि पोखरा एक छ भन्ने सन्देश दिनु जरुरी छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको उनले बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अड्डा पोखरामा सञ्चालनका लागि आवाज उठाइरहेको उनले सुनाए । नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड थियो ।

मन्त्री गुरुङले प्रदेशको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार र भौतिक संरचना बनाउनका लागि गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । पोखरा आइटी पार्कका लागि उपउक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मिललाल बस्याल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या जिसी श्रेष्ठ, पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनिसकेकाले यसको स्तरवृद्धि र प्रभावकारी बनाउनका लागि साथ र सहयोग रहने बताएका थिए ।

ड्रोनबाट निगरानी

सडक महोत्सवमा नेपाल प्रहरीको टोलीले ड्रोनबाट निगरानी गर्ने भएको छ । प्रहरीले यो पटक सडकलाई महोत्सवलाई डिजिटल्ली रुपमा सुरक्षा दिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस बाहेक ४० वटा सिसीक्यामेराबाट पनि सुरक्षाको काम गरिने उनले सुनाए ।

म्यानुअल्ली सुरक्षा अन्तर्गत ५ दिनको अवधिमा करिब २ हजार प्रहरी परिचालन हुने कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए । सँगै शंकास्पद स्थानमा कुकुर प्रयोग गरेर सुरक्षा दिने योजना बनाएको उनले बताए ।

५ दिनसम्म चल्ने महोत्सवमा लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना हुनेछ । सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइल खेलहरु समावेश गरिएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्र अहिले दुलहीझै सिंगारिएको छ ।

महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन । महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो सम्पूर्ण पोखरेलीले अपनत्वमा गएको र अव पोखरा महानगरले पनि यसको अपनत्व लिएर अघि बढ्नुपर्ने आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ