छविको बयान आज सकिएन, रविको भोलिदेखि सुरू गर्ने तयारी

सहकारी ठगी प्रकरणः

छविको बयान आज सकिएन, रविको भोलिदेखि सुरू गर्ने तयारी

rabi chhabi

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै आजबाट बयानको प्रक्रिया सुरु भएको हो । आज गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ । जोशीको बयान बाँकी नै रहेको र भोलिपनि उनीसँग बयान लिइने बताइएको छ ।

उनको बयान मंगलबार पनि जारी रहने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सामान्यतया कसूरमा बढी भूमिका भएका प्रतिवादीबाट बयान सुरु गरिन्छ,’ उनले भने, ‘मंगलबार छविको सकेर रवि लामिछानेको बयान सुरु गर्छौं । बिहीबारसम्म बयान सकेर छिटोमा शुक्रबारबाट थुनछेकको बहस सुरु गर्ने तयारी छ ।’

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ । आज बयानका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो ।

जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ । न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३–४ दिन लाग्न सक्ने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ठगीको मुख्य नाइके मानिएका जिबी राई भने हालसम्म फारर छन् ।

छविले के दिए बयान ? 

प्रतिवादी छविलाल जोशीले आफूले सहकारीको एक पैसा पनि नलिएको बयानका क्रममा बताएका छन् । छविले ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडियामा आफूभन्दा अघि रवि लामिछाने जोडिएको बयान दिएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश राईसँगको बयानमा जोशीले संस्थापक सेयरधनी आफू भए पनि जीबी राई र एपीवान टेलिभिजनकी लक्ष्मी पौडेलमार्फत पहिले नै रवि लामिछाने गोर्खा मिडियासँग जोडिएको बयान दिएका हुन् ।

‘तत्कालीन समयमा रवि लामिछाने कालिकोटको रासकोटमा अस्पताल निर्माण कार्यमा व्यस्त रहेकोले जीबी र मेरो नाममा ५०/५० प्रतिशत सेयर लगानी गरी प्रवन्धपत्र नियमावली समेत तयार गरी कुल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी गोर्खा मिडिया नेटवर्क प्रालि ०७७ पुस १५ मा कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता गरिएको हो,’ जोशीले अदालतमा बयानका क्रममा भनेका छन् ।

पुँजी वृद्धि गरेर ०७७ चैत १८ मा जीबीको ५० प्रतिशत सेयरबापत ६ करोड, छविको ३५ प्रतिशत सेयर वापत ४ करोड २० लाख लाख र रविको १५ प्रतिशत सेयर वापत १ करोड ८० लाख रुपैयाँ कायम भएको थियो । रवि लामिछाने सञ्चालक हुनुभन्दा पहिले नै जीबी, रवि र छविले केवाईसी भरेर कुनै एकजनाको हस्ताक्षर चल्ने गरी ०७७ कात्तिक ६ मा ग्लोबल आईएमई बैंकमा गोर्खा मिडिया नेटवर्कको खाता खोलिएको छविको बयानमा उल्लेख छ । उक्त खातामा हालसम्म भएको ९० करोड ४४ लाख १७ हजार ५ सय ५२ रुपैयाँको सम्पूर्ण जानकारी जीबी र रविलाई थाहा भएको बयान उनले दोहोर्‍याएका छन् ।

न्यायाधीशले सोधेका १५ प्रशनको जवाफ दिने क्रममा छविले आफ्नो घरमा भेटिएको भनिएको सफ्टवेयरको हार्डडिस्कबारे पहिला कुनै जानकारी नभएको बताएका थिए । उनले संसदीय छानबिन विशेष समिति र सरकारी वकिल र प्रहरीका अनुसन्धान अधिकारीलाई दिएकै बयान दोहोर्‍याएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ