कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए । ‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,’ उनले भने। सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताए ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।रासस
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध