मुद्दा दर्ताका लागि रविलाई कास्की अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरणः

मुद्दा दर्ताका लागि रविलाई कास्की अदालतमा उपस्थित गराइयो

rabi lamichhane adalat

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गर्नका लागि लामिछानेलाई कास्की प्रहरीले अदालतमा उपस्थित गराएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको टोली पनि अभियोग पत्र लिएर अदालतमा उपस्थित भइसकेको छ ।

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।

आज लामिछानेसँगै अन्य ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गर्ने भएको छ । पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ विरूद्ध मुद्दा दर्ता गरिँदै छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यसपछि लामिछाने हिरासतमा छन् । पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पु¥याई सरकारी वकिलको कार्यालयले पुरक अभियोग पत्र दर्ता गरेको थियो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्दा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । शुक्रबार राति १२ बजे उक्त म्याद सकिएको थियो । शनिबार बिदा भएकाले आइतबारमात्र अभियोगपत्र दर्ता गर्ने लागिएको हो । थुनछेक बहसपछि पुर्पक्षाका लागि थुनामा पठाउने, साधारण तारिखमा छाड्ने वा धरौटीमा छाड्नेमध्ये एक निर्णय अदालतबाट आउनेछ । शुक्रबार भने सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वअध्यक्ष जितेन्द्रबहादुर(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरिएको थियो ।

शुक्रबार पुरक अभियोग दर्ता भएको मधये ६ पुर्पक्षका लागि कास्की कारागारमा छन् भने ३ जना अन्य जिल्लाका कारागारमा थुनामा छन् । प्रतिवादी बनाइएका १० जना फरार छन् । उनीहरू सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ