स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिक स्वास्थ्य बीमा सम्बन्धी कार्यविधी, २०८१ अनुसार पालिकाभित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
स्वास्थ्य सबैको संवेदनशील विषय भएकाले रोग लाग्दा नागरिकको आर्थिक अवस्था कमजोर भएकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गराउने नीति अनुसार पालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गराउन लागेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
‘स्वस्थ नागरिक, स्वस्थ पालिका’ अवधारणा अनुरुप पालिकाले स्वास्थ्यको विषयलाई मुख्य प्राथमिकता राख्दै पहिलो क्रममा आर्थिक अवस्था कमजोर भएका अतिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा गराउने अध्यक्ष तिवारीले बताए ।
गाउँपालिकाले वडावडाबाट पहिचान गरेर आएका अति विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा तिनीहरूको उपचारमा सहज हुने अध्यक्ष तिवारीको भनाइ छ । उनले रकम हुनेले पनि बीमा गर्ने र नहुनेले अति विपन्नको पहिचान गरी पालिकाले नै बीमा गरिदिने व्यवस्था मिलाइएको जनाए । अति विपन्न पहिचान गरेपछि वडामा रहेका दर्ता सहजकर्ता तथा स्वास्थ्यकर्मी, स्वयंसेविकाहरुले घरमै पुगेर बीमा गरिने बताउँदै अध्यक्ष तिवारीले उनीहरुले नै स्वास्थ्य बीमा लाभ के कसरी लिने र कहाँबाट लिने भन्ने हरेक कुराको बारेमा जानकारी गराउने बताए ।
अध्यक्ष तिवारीले भने, ‘आर्थिक अभावका कारण स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिकहरुले उपचार गर्न समस्या भएकाले बीमा कार्यक्रम ल्याएको हो।’ बिमित विपन्न नागरिकहरुलाई बीमा नविकरण गरि निरन्तरता दिन आग्रह गर्दै यदि उनीहरुले नविकरण गर्न नसके आफैंले नविकरणका लागि रकम उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरे ।
आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई आर्थिक सहयोग, पोषणसम्बन्धी कार्यक्रम, सुत्केरी तथा विपन्न परिवारलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदानलगायतका सेवाहरू संचालनमा रहेको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर नेपालीले जानकारी दिए ।
‘गाउँगाउँमा स्वास्थ्य चौकी, टोल-टोलमा स्वास्थ्यकर्मी’को अवधारणा अनुरूप प्रत्येक दिन स्वास्थ्यकर्मीको टोलि घर-घर पुगि नियमित चेकजाँच समेत गर्दै आएको स्वास्थ्य शाखा प्रमुख नेपालीले बताए ।
गाउँपालिकाले बीमा लाभग्राही हुनका लागि आवेदन माग गरेको छ । जसमा लाभ लिने नागरिकहरुले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी ठेगाना खुल्ने कागजात (नागरिकतामा स्थायी ठेगाना हालको भन्दा अन्यत्र भएमा) र विपन्न नागरिक परिचयपत्रको प्रतिलिपि, विपन्न हो भनि प्रक्रिया पुर्याएर वडा कार्यालयले गरेको सिफारिससहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सम्बन्धित खबर
आगलागीबाट हजारौंको क्षति
रुखबाट लडेर एक महिलाको मृत्यु
स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण
स्याङ्जाका नौ हजार ३१९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने
स्याङ्जा ट्राफिकले संकलन गर्यो झण्डै ७० लाख रुपियाँ राजस्व
अर्जुनचौपारीको सरकारी कामकाजका लागि एकीकृत शिविर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी