पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे २ लाख महिलाको परीक्षण गरिने

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे २ लाख महिलाको परीक्षण गरिने

Health

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।

मन्त्रालयअन्र्तगतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

यसैअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

क्यान्सरको उपचारसँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ, लालले भने, त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौं ।

यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए ।

नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको छ ।

क्यान्सरबिरुद्ध १६ लाख किशोरीलाई निःशुल्क खोप

यसअघि मन्त्रालयले मन्त्री पौडेलकै योजनाअनुसार विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ ।

यस निर्णयबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् ।

कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ