‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ ।
“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उनले भने, “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको व्यवस्था मिलाएका छौँ ।” विद्यालयमा पालिएको कुखुराले दिने अण्डाबाट विद्यालयमै रहेको ह्याचिङ मेसिनबाट चल्ला उत्पादन गर्ने र बिक्री गरी आम्दानीका रूपमा दाखिला हुने गरेको छ । विद्यालयमा पढाइसँगसँगै सिकेको व्यावहारिक सीपलाई घर गएर पनि विद्यार्थीले उपयोग गर्न सक्ने बनाउन विद्यालयले चल्ला उत्पादन गरी उपलब्ध गराउँदै आएको छ ।
विद्यार्थीले घरमा चल्ला लगेमा नयाँ चल्ला उत्पादन भएपछि साँवास्वरुप फिर्ता गर्ने र बाँकी रहेका चल्ला वा तिनले दिएका अण्डा आफैँले बिक्री गर्न पाउने व्यवस्था विद्यालयले मिलाएको छ । “विद्यार्थीले विद्यालय वा घरमा पालेका कुखुरा, चल्ला तथा अण्डा बिक्री गर्न विद्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “विद्यार्थीले आफैं बिक्री गर्न पनि सक्ने र बिक्री नभएको खण्डमा विद्यालयले बजारीकरण गर्ने उल्लेख भए तापनि हालसम्म विद्यार्थी स्वयंबाट सहज तरिकाले बिक्री भइराखेको छ ।”
चालु शैक्षिकसत्रसँगै थालिएको यो अभियान निकै प्रभावकारी ढङ्गले अगाडि बढेको दाबी प्रधानाध्यापक गुरुङको छ । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाएको उनले बताए ।
विद्यार्थीले घरमा पालेका कुखुराको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उनको छ । विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।
विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो