अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सवको उपाधि पञ्चकन्या माध्यामिक विद्यालयले जितेको छ ।
२२ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित पञ्चकन्या माविले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । यस अघि पनि पहिलो राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्याले नै जितेको थियो ।
आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा उपविजेता घण्टे माविले ९ स्वर्ण, ९ रजत र ५ कास्य पदकसहित २३ पदक हासिल गरेको छ । तेस्रो बनेको अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक गरि १५ पदक र चौथो अमरज्योति माविले ४ स्वर्ण, ४ रजत र १० कास्यसहित १८ पदक प्राप्त गरेको छ ।
पालिकाको खेलमैदानमा बिहीबारदेखि सुरु भएको महोत्सवमा छात्र-छात्राबिच चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबल प्रतियोगिता गरिएको थियो ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य राजु थापाले रनिङ शिल्ड तथा मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरु गरि ३३ विद्यालयका विद्यार्थीहरुको सहभागी रहेको थियो ।
यसैगरी, शैक्षिक प्रगति मूल्यांकनमा आरुचौरको घण्टे मावि सर्वोत्कृष्ट स्थान हासिल गरि एक लाख रुपियाँ नगदसहित पुरस्कृत भएको छ । उत्कृष्ट बन्दै रापाकोटको जन माविले पचास हजार रुपियाँ नगद, आधारभूत तहमा गणेश आवि र गाउँफर्क आवि (१-५) सर्वोत्कृष्ट बन्दै ५०-५० हजार, सूर्योदय आवि आरुचौर (१-३) पचास हजार नगदसहित पुरस्कृत भएका छन् ।
घण्टे माविकी छात्रा विनिता पालिका सर्वोत्कृष्ट खेलाडी
अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा घण्टे माविकी छात्रा विनिता क्षेत्री पालिका सर्वोत्कृष्ट खेलाडी बनेकी छन् ।
अर्जुनचौपारी -५ घण्टे माविमा कक्षा -११ मा अध्यनरत विनिता क्षेत्रीले आफूले प्रतिस्पर्धा गरेको पहिलो प्रतियोगितामा आठ पदक जितेकी हुन् ।
गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा पहिलो पटक सहभागी क्षेत्रीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक हासिल गरेकी थिइन् ।
उनले १०० मिटर दौड, १०० मिटर रिले, भलिबल र लङजम्पमा स्वर्ण पदक हासिल गरेकी थिइन् । ४०० मिटर रिले र २०० मिटर दौडमा रजत पदक जित्न सफल क्षेत्रीले कबड्डी र त्रीपलजम्पमा कास्य पदक प्राप्त गरेकी थिइन् ।
पर्वतको महाशिला गाउँपालिका -६ घर भई घण्टेमा अध्यनरत क्षेत्रीले यसभन्दा पहिला खेलकुदमा सहभागी नभएको बताउँदै पहिलो पटकको सहभागितामा पालिकाको सर्वोत्कृष्ट खेलाडी बन्दा खुसी व्यक्त गरेकी थिइन् । यसैबाट प्रोत्साहित क्षेत्री अब निरन्तर खेलकुदमा लाग्ने बताइन् ।
यसैगरी, अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा पञ्चकन्या माविका हित बहादुर क्षेत्री र बिनिसा जीसी पनि उत्कृष्ट भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा हित बहादुर क्षेत्रीले सात स्वर्ण र एक रजत पदक प्राप्त गरेका थिए । उनले १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले, ४०० मिटर रिले र डोरी तान्ने प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए भने कबड्डीमा रजत पदक जितेका थिए ।
त्यस्तै, बिनिसा जीसीले तीन स्वर्ण र एक कास्य पदक हासिल गरेकी थिइन् । उनले २०० मिटर दौड, ४०० मिटर रिले दौड र लङजम्पमा स्वर्ण पदक हासिल गरेकी थिइन् भने १०० मिटर रिलेमा कास्य पदक जितेकी थिइन् ।
यस्तै, अमरज्योति मावि मार्चपासमा उत्कृष्ट विद्यालय घोषणा भएको थियो ।
सम्बन्धित खबर
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
रुखबाट लडेर एक महिलाको मृत्यु
स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण
स्याङ्जाका नौ हजार ३१९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने
स्याङ्जा ट्राफिकले संकलन गर्यो झण्डै ७० लाख रुपियाँ राजस्व
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी