राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो।
‘उहाँको बैंक खाता जाँच गर्दा ठुलो रकम जम्मा भएको देखिन्छ, तर खर्च भएको स्थान देखिँदैन। त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका गरिएको छ।
रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए। प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढाएको हो।
अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन्। ‘यस्ता धेरै विषयलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
सहकारी ठगी मुद्धामा अनुसन्धानका लागि काठमाडौं लगिने
ठगी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं लगिने भएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आइतबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्। लामिछानेका व्यापारिक साझेदार एवं स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राई र अर्का साझेदार छविलाल जोशीसहित २४ जनाविरुद्ध भने कात्तिक १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो। राई फरार छन् भने लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
काठमाडौंको स्वर्णलक्ष्मी, कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले लामिछानेलाई बयानका लागि काठमाडौंपछि चितवन र पर्सा पनि लानसक्ने जनाएको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो