पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए ।

सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि थिए । दसैं–तिहारको बिदा रचनात्मक र सिर्जनशील बनाउनका लागि र नयाँ कुरा सिक्ने अवसर दिलाउनका लागि विद्यालयले विद्यार्थीलाई विज्ञानसँग सम्बन्धित रहेर विभिन्न प्रोजेक्ट तयार पार्न लगाएको थियो । बिदाको सदूपयोग गर्दै तयार पारिएका तिनै प्रोजेक्ट विद्यार्थीले प्रदर्शनमा राखेका थिए ।
‘परम्परागत रुपमा दिइने गृहकार्य भन्दा पनि माथि उठेर विद्यार्थीलाई वैज्ञानिक ढंगले नयाँनयाँ प्रोजेक्ट तयार गर्न लगाएका थियौँ । विद्यार्थीले मेहनतका साथ प्रविधिमा आधारित रहेर विभिन्न सामाग्री तयार पारेका थिए,’ उनले भने, ‘विद्यार्थीका ती सामाग्री अरुलाई देखाउनका लागि पनि प्रदर्शन आवश्यक हो । माथिल्लो कक्षाका विद्यार्थीले तयार पारेका सामाग्री तल्लो तहका विद्यार्थीका लागि पनि उपयोगि र सिकाई हुन्छन ।’

विद्यालयको छनोटको आधारमा ११ र १२ कक्षाका १ सय ५५ र कक्षा ४ देखि १० सम्मका ७८ गरि २ सय ३३ सामाग्री विद्यार्थीले प्रदर्शनमा राखेका थिए । ‘विद्यार्थीको मौलिकता यो प्रदर्शनीमा देख्न पाइन्छ । विद्यार्थीको मेहनत पनि यसमा परेको छ,’ उनले भने, ‘विद्यार्थीको सिकाईले सबैलाई हौसला दिलाएको छ । विद्यार्थीको यही सिकाईलाई कुनैदिन उपयोग गर्न पनि सकिन्छ ।’
सापकोटाका अनुसार कक्षा ४ देखि ७ सम्मको प्रतिश्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । त्यस्तै ८ देखि १० कक्षासम्मको प्रतिश्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । ११ र १२ कक्षामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २०, १५ र ७ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत गरिनेछ । सबै विधामा तेश्रो हुने दुई समूहलाई पुरस्कृत गरिने पनि उनले बताए ।

त्रिभुवन र पोखरा विश्वविद्यालयका प्राध्यापकहरु सहभागि टिमले उत्कृष्ट प्रोजेक्टको मुल्यांकन गरेका थिए । निर्णायक समितिका संयोजक त्रिविका प्राध्यापक डा. शोभाकान्त लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता बाहिर ल्याउन सहज हुने बताए । विभिन्न ६ वटा आधारमा विद्यार्थीले गरेको कामको मुल्यांकन गर्ने पनि उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले विद्यालय शिक्षा सैद्धान्तिक मात्र नभई प्रयोगात्मक पनि हुनुपर्ने बताए । ‘हामीले धेरैजसो अवस्थामा सैद्धान्तिक ज्ञान मात्र दिन्छौ । तर, प्रतिभाले प्रयोगात्मक ज्ञान पनि दिने गरेको विद्यार्थीको यो मेहनतले पुष्टि गर्छ,’ उनले भने, ‘हामी अहिलेका यिनै विद्यार्थी भविश्यका जनशक्ति हुुन । त्यही अनुसार हामीले तयारी गर्नुपर्छ ।’

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विज्ञान प्रदर्शनी परम्पराका रुपमा मात्र नभई नयाँ ज्ञान र सीप देखाउनका लागि उपयोगी हुने बताए । ‘नयाँ खोज र पहिचानले विद्यार्थीको क्षमता प्रस्ट पार्छ,’ उनले भने, ‘विद्यार्थीले अहिले तयार पारेका यी सामाग्रीले भविश्यमा पनि नयाँ पहिचान दिन सक्नुपर्छ ।’ विद्यार्थीले नयाँ सोँच र प्रतिभालाई बाहिर देखाउनुपर्ने र यस्ता कार्यक्रम गतिला अवसर बन्ने उनले बताए । ‘यस्तै कार्यक्रममार्फत नयाँ र क्षमतावान बैज्ञानिक तयार हुनसक्छन,’ उनले भने । प्रदर्शनीमा अरु विद्यालयबाट विद्यार्थीलाई प्रदर्शनी अवलोकनका लागि ल्याइएको थियो ।

विद्यालयका प्राचार्य सापकोटाका अनुसार विज्ञान विषयका विद्यार्थीको यो प्रदर्शनीपछि व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि पनि कार्यक्रम हुनेछन । व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस प्लान गर्ने सम्बन्धि प्रतिश्पर्धा संचालन गरिनेछ । त्यसबाहेक होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि फूड फेस्टिबल पनि संचालन गरिनेछ ।


सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो