सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा लगिएका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ । लामिछानेको बयान शुरु भएको छ।
लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२: २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । खराब मौसमका कारण ४ घण्टा पोखरा विमानस्थलमा अड्किएका थिए ।
विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइएको छ ।’ डीएसपी खनालले भनिन् ।
सुरक्षा व्यवस्था कडा
बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सहकारी ठगी आरोप लागेका लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र सुप्रिम सहकारीका पीडितले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
रास्वपाले बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुँदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गरिरहेको छ ।
उता सहकारी पीडितले जिल्ला सरकारी वकिलको कार्यालय अगाडि जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
आफ्नो बचत फिर्ता पाउनुपर्ने, सहकारी ठगीमा संलग्न जोसुकैले सजाय पाउनुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागेको सहकारी पीडित संघर्ष समितिकी चिना थापाले बताइन् ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।
कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई रातारात पोखरा ल्याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
पूर्वगृहमन्त्री लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कार्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही लगेर बयान गरी कास्की ल्याइसकिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। तर लामिछानेले आफूले निवेदन दिएर ऋण माग नगरेको र नलिएको जिकिर गर्दै आएका छन् ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो