पर्यटनमन्त्रीलाई पोखरेलीको प्रश्न : भैरहवा विमानस्थल चल्दा पोखरा किन चलेन ?

पर्यटनमन्त्रीलाई पोखरेलीको प्रश्न : भैरहवा विमानस्थल चल्दा पोखरा किन चलेन ?

Badri Prasad Pandey

पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

आज पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन् ।

पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँँदै पोखराबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरे । उनले पोखरा आउने सडकको स्तरोन्नतिलाई तीव्रता दिन, नेपाल र चीनबीचको कोरला नाका सहज र नियमित सञ्चालनका लागि पहल गर्न पनि आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग गर्न माग गरे । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र राजमार्गको स्तरोन्नतिमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र नेपालको गरिबी निवारण हुनसक्ने भएकाले खेल पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले यस क्षेत्रमा  पर्यटन एवम् शान्ति सङ्गीत महोत्सव गर्न सुझाव दिए ।

यसैबीच होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै होटललाई उद्योग सरह मान्यता दिई सोहीअनुसार व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जाजस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनु पने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने माग गरे । रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा पनि प्रवर्द्धनका काममा जोड दिनुपर्ने सुझाव दिइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण खोजिरहेको र मन्त्रालयले प्राविधिक टोलीसँग बुझेर थप कार्य अगाडि बढाइने विश्वास दिलाए । होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, मुद्रा सटही व्यवसायी सङ्गठन पोखराका अध्यक्ष रुपकराज मिश्रलगायतले पोखराको पर्यटनका सम्भावनालगायत विषयमा धारणा राखेका थिए ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताएका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सचालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पारे। उनले दुई अन्तर्राष्ट्रिय विमानस्थ सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरे ।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर तद्अनुरुप कार्य प्रक्रिया अगाडि बढायौं’, पर्यटनमन्त्री पाण्डेले भने, ‘सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठनगरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा करलगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान संभव भएको हो ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भइरहेको जानकारी दिए ।

मन्त्री पाण्डेले ठूलो पुँजी लागानी गरेका विमानस्थल पूर्णरूपमा सञ्चालका लागि त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रमलगायत अन्तरसम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक रहेको उल्लेख गरे । ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरू अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै उनले यी तमाम कामलाई चरणबद्ध रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो बृहत विकास परियोजना पूर्णक्षमता सञ्चालनमा आउन केही समय लाग्ने बताए । उनले भने, ‘भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनुपर्ने जस्ता प्राविधिक समस्याहरू विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds