पोखरा । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार सम्बन्धमा व्यक्तिको मुख हेरेरभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुने स्पष्ट पारेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीसँग उनले गल्ती गर्नेहरु सबै अनुसन्धानमा तानिने बताएका हुन् ।
कुनै मानिसको अनुहार हेरेर यो आफ्नो मान्छे यो अरुको मान्छ भनेर अनुसन्धान फितलो नबनाउने तर्क दिए । सोहीअनुसार केही मानिसहरु अनुसन्धानको दायरामा आइसकेको र केहीको खोजी भइरहेको उनले बताए । पक्राउ पूर्जी जारी भएकाहरुको प्रहरीले खोजी गरिरहेको समेत उनले जानकारी दिए । लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको उनले सुनाए ।
उनले सहकारी सम्बन्धमा संसदीय छानबिन समितिको सिफारिसअनुसार पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको बताए । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल कारागारमा रहेको बताउँदै उनले रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान जारी रहेको जनाएका हुन् । ‘रविजी र छविजीमाथि अनुसन्धान अगाडि बढाएको हो,’ उनले भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन । सहकारीको रकम हिनामिनामा धेरै मानिस कारबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।’ उनले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताए । ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’
रास्वपा सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि गत २ कात्तिकमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनलाई गत बिहीबार थप अनुसन्धानका लागि दोस्रोपल्ट ७ दिनको म्याद थपिएको थियो । उक्त म्याद मंगलबारदेखि सकिएको छ । तिहार बिदा परेकाले उनलाई अब २० कात्तिकमा अदालत उपस्थित गराइँदैछ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संघ मातहत रहेका प्रहरीलाई समयसापेक्ष ऐन र कानून बनाएर पेशागत व्यावसायिकता प्रदान गर्नेलगायत काम सकेसी प्रदेश प्रहरीबारे काम गरिने बताए ।
‘संघका प्रहरीलाई नयाँ कानून बनाएर व्यावसायिकता प्रदान गर्न जरुरी छ,’ उनले भने, ‘यसका लागि ऐनहरु तर्जुमा भएर पार्लियामेन्टमा जाने अन्तिम चरणमा छ । त्यसपछि मैले प्रहरीमा कार्य गर्नेछु ।’ २०१२ सालमा बनेको प्रहरी ऐन परिमार्जन नहुँदा केही समस्या रहेकाले तत्कालका लागि त्यो समाधान गर्न जरुरी रहेको उनले सुनाए ।
मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालयको सञ्चालन भएकाले यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने उनले बताए ।
अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले दुई देशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने बताए । अब छिट्टै पासपोर्टका आधारमा चिनियाँहरु नेपाल आउन सक्ने र नेपालीहरु पनि चीन जान सकिने उनले जानकारी दिए।
नाकामा रहेका संरचनामा फरकपन रहे पनि सेवामा कुनै अन्तर नहुने उनले प्रस्टाए । ‘कुनै चिनियाँ नागरिक नेपाल आउन चाह्यो भने उनको पासपोर्ट जुन मेसिनबाट चेक हुन्छ, नेपालमा पनि त्यही मेसिनबाट हुन्छ, उता जसरी अनलाइन, डिजिटलाइज हुन्छ हाम्रोमा पनि त्यस्तै हुन्छ,’ उनले भने, ‘भिसाबाट आउजाउको प्रक्रिया छिट्टै हुन्छ।’
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी