स्याङ्जामा विद्यार्थीको आकर्षण बन्यो नाटक ‘एक चिहान’

नाटक मञ्चन

स्याङ्जामा विद्यार्थीको आकर्षण बन्यो नाटक ‘एक चिहान’

ek chihan syangja

गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक ‘एक चिहान’ मञ्चन गर्ने लक्ष्य लिएको पोखरा थिएटरले स्याङ्जामा नाटक मञ्च गर्दै गर्दा विद्यार्थीहरुको आकर्षण बनेको छ ।

साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको `एक चिहान´ उपन्यास कक्षा १२ को पाठ्यक्रममा समेत समावेश रहेको कारण यो नाटकमा बढी विद्यार्थीको आकर्षण देखिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

वि.सं. २०११ मा साहित्यकार प्रधानले लेखेको उपन्यास ‘एक चिहान’को नाट्य रुपान्तरण तथा निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गरेका हुन् ।

परिवर्तन, रमेशबाबु तिमिल्सिना, कविता घर्ती मगर, रोशनी रामदाम, रवीन्द्र मल्ल, प्रकाश रेग्मी हमाल, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सुशन पौडेल, कविता आचार्य, रामखेलावन रावत, सुरक्षा दाहाल, दिल थापा मगर, सिर्जना राना, प्रतीक घिमिरेले अभिनय गरेको नाटक स्याङ्जाको सदरमुकाम स्थित सिटिहलमा तीन दिनमा नौ पटक मञ्चन गरिएको थियो ।

थिएटरका अध्यक्ष पतिवर्तनले यहि कार्तिक ७, ८ र ९ गते मञ्चन गरिएको नाटक स्याङ्जाका २२ विद्यालयका विद्यार्थीसहित तीन हजार बढी दर्शकले हेरेको बताए । उनले यस्ता नाटकलाई गाउँ-गाउँमा पुगेर मञ्चन गर्नुपर्ने र जनतालाई सचेत गराउनुपर्ने सुझाव आएको बताए ।

परिवर्तनले आफ्नो जन्म जिल्लामा पहिलोपटक नाटक मञ्चन गर्ने अवसर पाउँदा आफू निकै हर्षित बनेको बताए । गृह जिल्लामा नाटक लिएर आउँदा अपार माया मिलेको उनको भनाइ छ ।

उपन्यास एक चिहानलाई वि.सं. २०७६ सालको साउन महिनामा पहिलोपटक यो नाटक पोखरा थिएटरमा मञ्चन गरिएको थियो । पोखरा थिएटरका अनुसार उक्त नाटकको हालसम्म २ सय ६० सो मञ्चन भएको र करिब ६० हजार दर्शकले नाटक हेरिसकेका छन् ।

नाटकमा साहित्यकार प्रधानले नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, २००७ साल पश्चात् नव सामन्तले गरिब किसान र मजदुरहरु माथि गरेकोआर्थिक शोषण तथा दमन, सामाजिक अन्धविश्वासलाई उजागर गर्दै त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देशन गरेको कुराहरु अनुभूति गर्न पाइन्छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बितेका कुरा, निरमाया, बाकस, केही दिन बर्बाद होस् पनि निर्देशन गरेका छन् ।

पोखरा थिएटरको `एक चिहान´ नाटक पर्वत, लमजुङ, कास्की र तनहुँ जिल्लामा समेत मञ्चन भइसकेको छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार आफ्नो टिमले यहि कार्तिक ११ र १२ गते वालिङ् बजारमा नाटक मञ्चन गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ