अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले एक खेलअगावै जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले सिरिज एक खेलअगावै जितेको हो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
निकै रोमाञ्चक बनेको दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालले खेल सुपर ओभरमा धकेल्यो । सोपमाल कामीले सानदार बलिङ गर्दा सुपर ओभरमा अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो । तीन रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्यो ।
निर्धारित २० ओभरको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि नतिजा सुपर ओभरबाट लिइएको हो ।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो । तर, सोमपालको उत्कृष्ट बलिङका कारण उसले अन्तिम ओभरमा ६ रन जोड्दा दुई विकेट गुमायो ।
अमेरिकाका लागि एन्ड्रिज गौसले ४३ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, साइतेजा मुक्कामल्लाले ४७, मिलिन्द कुमारले १५ र शायन जहाँगीरले १४ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले ४ ओभरमा ३५ रन दिएर तीन विकेट लिए ।
यस्तै, सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर दुई विकेट हात पारे । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । त्यसअघि डालासस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले ६ छक्का ७ चौकाको मद्दतमा अविजित ९२ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो नवौँ अर्धशतकीय पारी हो । उनी यस खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै, दोस्रो खेलमा अनिलकुमार साहले २५, गुलशनकुमार झाले १९ र कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे । करण केसीले एक बलमा अविजित ६ रन बनाए । उनले अन्तिम बलमा छक्का हिर्काउँदै उत्कृष्ट फिनिसिङ गरे ।
अमेरिकाका लागि नोस्तुश केन्जिगे र जसदीप सिंहले दुई/दुई तथा सौरभ नेत्रावल्करले एक विकेट लिए । यो जितसँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । नेपाल र अमेरिकाले तेस्रो टी–२० आई सोमबार खेल्ने तालिका छ ।
नेपाल र अमेरिका आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप टी–२० सिरिज खेलिरहेका हुन् । आसन्न लिग–२ सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डको सामना गर्नेछ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो