सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्दै

सहकारी ठगी प्रकरणः

सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्दै

पीडितको पक्षमा लागिदिन आम जनसमुदायलाई अपिल

suryadarshan

पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् ।

सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरू पोखरा आएर सडक प्रदर्शन चर्काउन थालेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । पीडितको पक्षमा लागिदिन आम जनसमुदायलाई अपिल पनि गरिएको छ । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

पोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ता आमने–सामने हुन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

 रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

रविलाई पक्राउ गरेर ल्याएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। चोकचोकमा प्रहरी तैनाथ राखिएको छ भने कार्यक्रम स्थल र जिप्रका अगाडि बाक्लो मात्रामा प्रहरी खटाइएको छ। सधैँ निर्बाध रुपमा प्रवेश गर्न पाइने जिल्ला प्रहरी कार्यालयमा आकस्मिकबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।

सहकारी पीडितहरूले पनि शुक्रबार प्रदर्शन गर्ने तयारी गरेका थिए। रविलाई पक्राउ गरेको समर्थन गर्दै आफ्नो अपचलन भएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्ने तयारी गरिए पनि प्रशासनको आग्रहमा स्थगित गरेको थियो।

जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आफूहरूलाई तत्काल कुनैपनि कार्यक्रम नराख्न आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको सहकारी पीडित सङ्घर्ष समितिका सह–संयोजक सूर्य पोखरेलले जानकारी दिए।

सिडिओको भनाई उद्धृत गर्दै उनले भने, ‘हामी तपाईं पीडितको पक्षमै छौं, तपाईंहरुले विथोलिनेगरी कार्यक्रम र प्रदर्शन नगरिदिनुस्।’ सो आग्रहपछि आफूहरुले केही दिनका लागि पर्ख र हेरको अवस्थामा बस्ने निर्णय गरेको उनले बताए। ‘अनुसन्धान कसरी अगाडि बढ्छ, त्यही अनुसार हामी अगाडि बढ्छौं।’

सहकारी पीडित भन्छन्: रविलाई समातेपछि न्याय पाएको अनुभूति भयो

यसैबीच, सहकारी पीडितले रविलाई समातेपछि आफूहरूलाई न्याय पाएको अनुभूति भएको बताएका छन्। सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन गर्ने मध्येका एक रवि लामिछानेलाई पक्राउ गरेपछि आफूहरूले न्यायको अनुभूति गरेको बताए।

उनले भने, ‘भर्खरै पैसा नपाइएला तर न्याय पाइन्छ कि भन्ने आशा पलाएको छ।’ उनले आफूहरुको अपचलन भएको रकम फिर्ता गरे मुद्दा फिर्ता गर्न तयार रहेको बताउँदै भने,‘हाम्रो अपचलन भएको रकम फिर्ता हुनुपर्‍यो। हामीले बचत रकम पाउनु पर्‍यो। त्यसपछि हामी पनि मुद्दा फिर्ता गरौंला। त्यसपछिको कारबाही कानुनले के भन्छ त्यही अनुसार होस्।’

तस्वीरः नागरिक दैनिक

अर्का सहकारी पीडित तथा सहकारी पीडित सङ्घर्ष समितिका सहसंयोजक सूर्य पोखरेलले रविलाई समातेपछि आफूहरुको रकम खातामै आएजस्तो सन्तोष मिलेको बताए। उनले भने,‘रविलाई पक्राउ मात्र गर्दा पनि आफ्नो बैंक खातामै पैसा आएजस्तो भएको छ। कम्तीमा न्याय पाएको अनुभूति भएको छ।’

अर्का पीडित तथा सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पनि रविको पक्राउमा सहकारी पीडितहरू खुसी भएको बताए। त्यसले न्यायको अनुभूति भएको छ, अबचाहिँ रकम फिर्ता भएर न्याय पाउने आशा पलाएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ