पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ।
एमालेले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ।’
पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरूङ र उनकी धर्मपत्नी सावित्री गुरूङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ।
विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८ औं बैठकले संस्थागत रूपमा स्वीकार गरी उनलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रूपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्यास समेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
जग्गादाता गुरूङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ।
‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन।’
विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौं महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने