काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।
गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात् हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रूपमा बढिरहेको छ”, मौसमविद् अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम बिस्तारै घट्दै गइरहेको छ ।”
महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।रासस
सम्बन्धित खबर
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
भोलिदेखि मौसम क्रमशः सुधार हुँदै
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना
यी तीन प्रदेशमा आज वर्षाको सम्भावना
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी