चितवनमा टीका लगाउन आउनेलाई दुध, दही र मोही

चितवनमा टीका लगाउन आउनेलाई दुध, दही र मोही

dahi

चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे ।

उनले भने, “पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दुध, दही र मोहीमा आकर्षित भएका पाइयो ।” उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे। उनले भने, ‘बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ । बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।’

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन् । कृषिमा स्नातकोत्तर गरेका उनले भन्नुभयो “धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दुध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।”

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन् । उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरूले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।

जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दुध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दुध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरूले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन् । सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उनी पछिल्लो समय माग बढ्दै गएको बताउँछन् ।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उनले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ । उनले भने “विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।” यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन् ।

फूलपातीदेखि दशमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए ।रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds