ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो ।
क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् ।
‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ,’ उनले भने ।
क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए ।
‘क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ,’ उनले भने ।
यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताए ।
सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छभने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । स्थानीय विवश लिम्बू आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउँछन् ।
‘लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ,’ उनले भने ।
लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको उनको भनाइ छ ।
वीरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका अध्यक्ष काफ्लेले बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सचिव खवासको भनाइ छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो