खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएका छन् भने ३८ घरमा आंशिकरुपमा क्षति पुगेको छ । दुई जना घाइते भएका छन् । १८ वटा पशुचौपाया मरेका छन् ।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।
प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।
बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी तथा पहिरोले एउटा पक्की पुल बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार बाढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ ।
खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।
विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने