पोखरा । सहकारी ठगी प्रकरणमा फरार रही दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ ल्याइएको छ ।
शुक्रबार साँझ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीमार्फत पक्राउ परेका नेपालीलाई शनिबार नेपाल ल्याइएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले नेपालीका दाजु ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ ।
नेपालीलाई बागलुङ प्रहरीले आजै अदालतमा पेस गरिएको र अदालतको फैसला आउन बाँकी रहेको बताइएको छ ।
फरार भएपछि नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका सहकारीका अध्यक्षसमेत रहेका नेपाली १६ महिनादेखि फरार थिए ।
इमेज सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । सहकारी संस्थामा भएको बचकर्ताको रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।
अध्यक्ष नेपालीले बागलुङ, कास्की, काठमाडौँलगायत ठाउँमा रहेको रु तीन अर्ब बराबरको घरजग्गालगायत भौतिक सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।
उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए ।
नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो ।
दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन् । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट ढोरपाट नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी