सुस्तामा बन्यो पुल, राष्ट्रपतिद्वारा उद्घाटन

विकास निर्माण

सुस्तामा बन्यो पुल, राष्ट्रपतिद्वारा उद्घाटन

susta pul

नवलपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाल नागरिकता प्राप्त गर्नुका साथै उनीहरुले जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा पाउने बताएका छन् ।

बिहीबार पश्चिम नवलपरासीको सुस्ता जोड्ने झोलुंगे पुल उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले सुस्तामा झोलुंगे पुल निर्माणले सुस्ताबासीलाई मात्र नभएर सरकारलाई पनि खुसी मिलेको बताउँदै सुस्ताबासीलाई उत्पादनसँग जोडेर काम गर्न आग्रह समेत गरे ।

पुल निर्माणपछि सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, ‘उत्पादनमा जोडेर काम गर्नुहोस् यहाँ झोलुंगे पुल मात्रै होइन सरकारले छिट्टै मोटरपुल पनि बनाउने छ ।’

उनले सुस्ताको झोलुंगे पुल रिबन काटेर विधिवत् उद्घाटन गरेका हुन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ को सकरदिनही र सुस्ता भूमि जोड्ने गरी नारायणी नदीमा निर्मित पुलको निर्माणपछि स्थानीयमा खुसीयाली छाएको छ । पुल निर्माणपछि यहाँका बासिन्दालाई नजिकको बजार गर्न वा अध्ययन गर्न भारत जानुपर्ने बाध्यता हटेको छ ।

राष्ट्रपति पौडेलले सुस्ता क्षेत्रमा हालै छोडिएको एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति समेत सुरु गरेका थिए । सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको थियो ।

कार्यक्रम कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा भएको हो । राष्ट्रपति पौडेलले पुल निर्माण पछि अब सुस्तताबासीलाई जोखिमपूर्ण डुंगा यात्राको अन्त्य भएको धारणा व्यक्त गरे ।

सुस्ता क्षेत्रमा ३ सय ५० घरधुरीको बसोबास छ । यो पुल बन्नुअघि स्थानीयहरू डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थियो । वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।

१५७१ मिटर लामो झोलुंगे पुल २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । पुल बनेपछि सुस्ताबासी खुसी हुँदै यस सुस्तामा उत्पादन हुने उखु र केरा बजारको पहुँचमा सहजता हुने स्थानीयले बताएका छन् ।

सुस्तालाई भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरेको छ ।

यहाँका बासिन्दा पुल नहुँदा आफ्नै पालिकाबाट प्रवाह हुने सेवा लिन र वाड कार्यालय जान पनि डुंगामा नारायणी नदी तरेर जानु पर्ने बाध्यता रहेको थियो ।

राष्ट्रपति पौडेलले अहिले सुस्तावासीलाई हिंडडुल गर्न केही सहजहोस् भनी सरकारले पुल निर्माण गरिदिएको र आर्थिक सवल भयो भने मोटरगाडी चल्ने पुलको केही वर्षपछि सुस्ताबासीले ‘उपहार’ स्वरुप पाउने आश्वासन दिएका थिए ।

नारायाणी नदीमा पुल नहुँदा सुस्ताबासी डुंगा तरेर कष्टपूर्ण यात्रा गरेर गाउँपालिका वा परासी आउने गरेको तर झोलुंगे पुल संचालनपछि आवातजावतमा धेरै सहज भएको सुस्ताबासीले बताएका छन ।

पुल संचालनमा आएपछि भारतीय पक्षबाट पटक–पटक अतिक्रमणको चपेटा परेको सुस्ताबासी समान्य कामको लागि पनि भारतको भर पर्न अवस्थाको अन्त्य भएको सुस्ता बचाउ अभियान कावा अध्यक्ष एवं वडा ५ का वडा सदस्य आम खानले बताए ।

उनले भने पुल नहँुँदा आफूहरु भारतीय बाटो एसएबसीको गाली खाएर पनि आवतजावत गर्न बाध्यता भएकोमा पुलले धेरै ठूलो राहत महसुस भएको बताए । पुल नहुँदा परासी गाउँपालिका र बर्दघाट काम जाँदा एक रात उतै बस्ने पर्ने अवस्था रहेको तर पुल संचालनपछि सदरमुकाम परासीमा जाँदा दिन नै बिताएर जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय जयनारायण शाहले बताए ।

सुस्ताको प्रमुख नगदी बालीको रुपमा उखुखेती हो । यहाँका बासिन्दाले उखु बिक्री गर्न पनि भारतका चिनी मिलमा वा नारायणी नदी कटाएर नेपालका चिनी मिल तथा भेली मिलमा उँखु बेच्न बाध्य हुनु पर्दथ्यो । पुल बनेसँगै धेरै थोरै सामग्रीहरु पुलबाट सोझै वारपार गराउन सक्ने अवस्था सिर्जना भएकोले यहाँको बासिन्दाको जीविकोपार्जनमा पनि प्रभाव पार्ने शाहले बताए ।

यस्तै, पहिले पुल नहुँदा भारतका विद्यालयमा पढ्न जान बाध्य भएका विद्यार्थीहरु अब नेपालकै विद्यालयमा पढ्न सहज भएको छ । सुस्तामा कक्षा ५ सम्म मात्र पठनपाठन हुने एउटा आधारभूत विद्यालय रहेको छ । सुस्तामा पुल बनेपछि सुस्ताबासीको जीनवस्तरमा सहज हुने मात्र नभई सुस्ता गाउँलाई पर्यटकीयस्थलरुपमा विकास गर्न सकिने सुस्ताबासीले विश्वास लिएका छन् । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ