नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बीपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनिबार सम्बोधन गर्दै देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेको सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको उल्लेख गरे ।
‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने । उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए ।
सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ’, सभापति देउवाले भने ।
सभापति देउवाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने ।
हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि १ त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले थपे ।
सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए । उनले बीपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बीपी राजमार्गको सुरुवात गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘यो ठूलो गौरवको विषय हो ।’
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बीपीपुत्र डा शसाङ्क कोइरालाले बीपी कोइरालालाई पुजेर मात्रै होइन उनको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धि भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।’ उनले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गरे । रासस
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने