संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट

संविधान दिवस

संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट

Dilli Raj Bhatta 1

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अंगहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा संविधान दिवसका अवसरमा आज पोखरामा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्तिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउनुपर्ने बताए ।

“हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ”, प्रदेश प्रमुख भट्टले भने, “उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक श्रोत तथा उर्जाशील युवाशक्तिसहित मानवीय संशाधनका दिगो सदुपयोग गर्दै कृषि, वन, जलश्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो ।”

नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उनले बताए ।

संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरुमा सबै नागरिकको समान पहुँच स्थापित हुनुपर्ने उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उनको भनाइ छ ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकंक्षा पूरा गर्ने संकल्प लिएको बताए । “निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभिद र उत्पीडिनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, मुख्यमन्त्री पाण्डेले भने।

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व राजनीतिक नेतृत्वसामु रहेको उनको भनाइ छ । संविधानमा व्यवस्था भएअनुसार संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

ग्ण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिए । उनले संविधानले निदृष्ट गरेअनुसार धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यक रहेको उनले बताए। “संघ सरकारले ऐन नबनाएका कारण कतिपय प्रदेश कानुन अगाडि बढाउन सकिएको छैन”, सभामुख धितालले भने, “नागरिकलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउन राजनीतिक दलहरु एकता र समन्वयका साथ अगाडि बढ्नु आवश्यक छ ।”

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान निर्माण राष्ट्रिय एकतासाथ गरिएको भन्दै संशोधन र परिमार्जन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा मात्र गरिने बताए । उनले संविधानले व्यवस्था गरेका गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता, समानुपातिक र समोवशी सिद्धान्तप्रति कसैसँग सम्झौता नुहने बताए । “नागरिकका अधिकारलाई थप सुदृढ र अधिकारसम्पन्न गराउन संविधान संशोधन हुनसक्छ, तर यो विष्या राजनीतिक दलहरुबीचको एकता र सहमतिका आधारमा मात्र अगाडि बढ्छ”, पूर्वमुख्यमन्त्री अधिकारीले भने ।

गण्डकी प्रदेशसभाका विपक्षी दलका नेता हरिबहादुर चुमानले संविधानको पूर्ण कार्यान्वयन नहुँदा संघीयताप्रति टिकाटिप्पणी भइरहेको बताए । उनले संविधानका उपलब्धीलाई रक्षा गर्न परिवर्तनका पक्षधर शक्तिहरु एकठाउँ उभिनुपर्ने बताए ।

औपचारिक समारोहअघि मुख्यमन्त्री पाण्डेलगायतले सहिदचोकमा पुगेर सहिदका सालिकमा माल्यार्पण गरेका थिए । सहिदचोकदेखि सुरु भएको प्रभातफेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आएर मूल समारोहमा परिणत भएको थियो । उक्त समारोहमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कलाकारहरुले विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ