आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

Sambidhan diwas

पोखरा । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।

आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् ।

साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

यस्तै, संविधान दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ