रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !

आफू अनुकूलको व्याख्या

रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !

rabi and prakashsharan

काठमाडौँ : सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले दिएको निष्कर्षबारे नेताहरूले आफूअनुकूलको व्याख्या गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको जिकिर गरेको छ। सभापति लामिछानेले स्वयंले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको दावी गरेका छन्।

सोमवारको संसद् बैठकपछि बाहिरिने क्रममा सुरुमा संसदीय छानबिन समितिका सदस्यसमेत रहेका सांसद शिशिर खनाल सहकारी हिनामिनाको आरोपमा सभापतिलाई पूर्णरुपमा क्लिन चिट दिएको बताए। खनालले भने, ‘सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिएन।’

त्यसपछि सभापति लामिछाने भने, ‘अब मैले बोल्नुपर्ने त के छ र?’ ‘सहकारीको रकम अपचलनमा दोषी नभए पनि सहकारीबाट ल्याइएको रकम बाँडफाँटमा तपाईं संलग्न रहेको भनिएको छ नि?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन। आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला। मूल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो। मलाई सहकारी ठग भनिएको थियो। प्रतिवेदन चाहिँ हेर्न पाएको छैन। तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ।’

तर रास्वपा सभापतिको संलग्नता रहेका मुख्य दावीकर्ता कांग्रसले भने रास्वपाको उक्त दावी हास्यास्पद रहेको प्रतिक्रिया दिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगी सम्बन्धमा ‘क्लिन चिट’ पाइयो भन्ने रास्वपा सभापति लामिछानेको दावी हास्यास्पद रहेको बताए।

गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दावी गर्नु अनुचित रहेको महतको भनाइ छ। समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि सोमवार संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै महतले गोर्खा मिडियाको सीईओका रूपमा लामिछाने नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिन चिट पाउनुभयो, थाहा छैन । समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन?’ महतले भने, ‘उहाँ स्वयंले म सहकारीको सदस्य होइन भन्नुभएको छ। गोर्खा मिडिया सञ्चालन, उहाँको तलब भत्ता सहकारीको पैसाबाट रहेको छ। जिम्मेवारीको तहमा रहँदा पैसा आएको छ। लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ। अझै दोषी होइनौँ भनेर निर्धक्कसँग भन्ने कुरा हास्यास्पद छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ