‘ल ! गृह जिल्ला प्रवेश गरियो है’
चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैंडाकोट टेकिएपछि पद्मा सुनिइन् ।
‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनिसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेर्स्याए ।
‘त्यस्तो फरक महशुस त केही भएको छैन । पहिले आवाज उठाउने, प्रश्न गर्ने ठाउँमा थिएँ, अहिले कार्यान्वयन र जवाफ दिने ठाउँमा पुगेको छु’ ओजपूर्ण जवाफ दिइन् पद्माले ।
पद्मा अर्थात् पद्मा जि.सी श्रेष्ठ । जो अहिले गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भएकी छन् ।
उनको गृह जिल्ला हो नवलपुर । नवलपुरको निर्वाचन क्षेत्र नं २(क)का जनताले गण्डकी प्रदेश सभा सदस्यका लागि पद्मालाई निर्वाचित गराएका थिए ।
मन्त्री भएपछि पहिलोपटक शनिबार(भदौ २९ गते) उनै जनतामाझ आइपुग्नै लाग्दा गैंडाकोट टेकिनासाथ उनले बोलेको पहिलो वाक्य त्यही थियो, ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’।
नेकपा(एमाले)बाट निर्वाचित सांसद मन्त्री भएर पहिलोपटक जिल्ला आउँदै गर्दा पार्टी तथा अन्य शुभेच्छुकको स्वागत कार्यक्रम स्वभाविक नै हो ।
नेकपा(एमाले) गैंडाकोट नगर कमिटी लगायत अन्य संघ संगठनमा अवद्धहरु भृकुटी चोकस्थित कमिटीको कार्यालयमा मन्त्री श्रेष्ठको स्वागतार्थ तम्तयार थिए ।
शुभेच्छुकहरुको स्वागतलाई मन्त्री श्रेष्ठले सभा सम्मेलनकै जस्तो औपचारिकता भन्दा पनि अनौपचारिक भेटघाट बनाउन प्रयत्न गरिरहेकि छिन् ।
गैंडाकोटका शुभेच्छुकमाझ मन्त्री श्रेष्ठले भनिन्,‘यहाँहरुको साथ सहयोग हिजो सांसद नहुँदा पनि थियो, सांसद हुँदा पनि रहिरह्यो र अब पनि रहिरहनेछ । मन्त्री भएपछिको यो मेरो पहिलो जिल्ला भ्रमण हो । यसलाई मैले शुभकामना लिने भन्दा पनि सुझाव लिने भ्रमणको रुपमा लिएकी छु ।’
समृद्ध नेपालको आधार कृषि नै भएको उल्लेख गर्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताइन् । उनले भनिन्,‘हामीले जुन यो समृद्ध नेपालको परिकल्पना गरिरहेका छौँ, यसको मुख्य आधार भनेकै कृषि हो । हाम्रो मुलुकको अर्थतन्त्रलाई दिगो रुपमा बलियो बनाइरहन आजको आवश्यकता भनेकै कृषि हो, उत्पादन हो ।’
कमिटीको कार्यक्रमपछि अर्को पुर्वनिर्धारित कार्यक्रममा मन्त्री श्रेष्ठले कृषिमा सहभागिताका कुरा दोहोर्याइन् । ‘हामीले कृषकका समस्यालाई छिटो पहिचान गरी कसरी तत्कालै समाधान गर्ने भन्नेतर्फ छलफल गरिरहेका छौँ । तत्कालै गर्न सकिने र समय लाग्ने योजनाहरुबारे पनि अध्ययन हुँदैछ । अब कृषि क्रान्तिका लागि एकजुट हुनैपर्छ, सबै हातेमालो गरेर अघि बढ्नैपर्छ’– शनिबार नै नेकपा (एमाले) देवचुली नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भनिन् ।
यसअघि मन्त्री श्रेष्ठले नेवाः देय दवूको ३० औं स्थापना दिवसको अवसरमा नेवाः देय दवू गैंडाकोट नगर कमिटीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको सहयोगमा आयोजित १ महिने निःशुल्क नेपाल भाषा तालिमको उद्घाटन गरिन् ।
उद्घाटनका अवसरमा बोल्दै उनले पछिल्ला पुस्तामाझ सांस्कृतिक चेतका लागि अरुची बढ्दै गएको, कम्तिमा थाहा हुनै पर्ने परम्परागत जानकारी र भाषाबारे नै ज्ञान नहुने क्रम बढ्दै गएकाले यस प्रकारका कार्यक्रमहरुको संख्या बढ्नुपर्ने बताइन् ।
कार्यक्रम व्यवहारिक र उपलब्धीमुलक हुनुपर्नेमा उनले जोड दिइन् ।
सम्बन्धित खबर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो