शुभम् सहकारीको अध्यक्षमा सूर्य

नयाँ नेतृत्व

शुभम् सहकारीको अध्यक्षमा सूर्य

उत्कृष्ट कारोबारी र कर्मचारीलाई  सम्मान

subham

पोखरा न्यूरोड स्थित शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सूर्य प्रसाद पौडेल चयन भएका छन् । संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई चयन भएका छन् । समितिको सदस्यमा गोविन्द प्रसाद बास्तोला, चीज कुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे र लक्ष्मी देवी बराल चयन भएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणी देवकोटाले जानकारी दिए । नवनिर्वाचित पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए ।

साधारणसभाले ज्ञानेन्द्र थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । समितिको सदस्यमा कालीप्रसाद भुर्तेल र पूर्णकला घर्ती चयन भए ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार एवं साधारणसभाका प्रमुख अतिथि भेषराज रिजालले पछिल्लो समय सञ्चालकसमेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्या ग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको बताए ।

सहकारीले ऋण लगानी गर्दा भनसुन, प्रलोभन र लोभमा नपरी सुरक्षित धितो बन्धक राखेर कर्जा प्रवाह गरेको खण्डमा कुनै कारणले ऋणीले ऋण तिर्न नसकेको खण्डमा त्यस्तो धितोको लिलामीबाट असुलउपर गर्न सकिने र बचत कर्ताको बचत पनि सुरक्षित हुने रिजालको भनाइ थियो ।

कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं अतिथि शेर बहादुर कार्कीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ र कसरी सञ्चालन भएको छ भनेर  सेयर सदस्य आफैले चासो राख्न पर्ने बताए । सहकारीको साधारणसभालाई भत्ता बुझ्ने र खाना खाने दिनका रूपमा मात्र लिन नहुने उनले बताए ।

सहकारी अभियन्ता एवं अतिथि भीम गुरुङले कास्कीमा १०/२० वटा सहकारी समस्या ग्रस्त रहेको भए पनि सहकारीको बारेमा चलेको नकारात्मक हल्ला र आर्थिक मन्दीको  समेत असर सबै सहकारीमा परेको बताए । सञ्चालक आफैले संस्थाको पैसा मनोमानी हिसाबले चलाउँदा, बिना धितोमा ऋण लगानी गर्दा र खोला छेउ तथा पाखा पखेराका कमसल धितोमा अधिक मूल्य कायम गरी  लगानी गर्दा  सहकारीहरू समस्या ग्रस्त बनेको उनको भनाई छ ।

संस्थाले साधारणसभाको अवसरमा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तित्वलाई  सम्मान समेत गरेको थियो । ऋण असुलीमा उल्लेखनीय योगदान गर्ने जोखिम व्यवस्थापन उपसमिति संयोजक कुमार आचार्य साधारणसभामा सम्मानित भए ।

उत्कृष्ट कारोबारकर्ताको रूपमा  ज्ञान बहादुर पुर्जा, शुष्मा पुन, सुनिता कुमारी श्रेष्ठ, रविलाल पहारी, बबिता अधिकारी भुर्तेल, सन्तोष बराल, हरि प्रसाद अधिकारी, लेखनाथ अधिकारी र विक्रम बहादुर थापा सम्मानित भए । त्यसैगरी, कर्मचारी तर्फ व्यवस्थापक कमल कोइराला, सह- व्यवस्थापक कृष्ण देवी थापा, कर्जा प्रमुख सचिन पाठक र बजार प्रतिनिधि प्रयास सुबेदी सम्मानित भए ।

कार्यक्रम अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ