गण्डकी बहुप्राविधिक शिक्षालयमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम

तालिम

गण्डकी बहुप्राविधिक शिक्षालयमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम

1000013751

पोखरा । जनसंख्या तथा वातावरण मन्त्रालय तथा यूएसएड अन्तर्गत संचालित यूएसएड जलजंगल कृयाकलापको आयोजनामा गण्डकी बहुप्राविधिक शिक्षालयमा दुई दिने वातावरणीय तथा सामाजिक सुरक्षा तालिम सम्पन्न भएको छ ।

पूर्वाधार विकास निर्माणका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्दै सकारात्मक प्रभावलाई प्रवर्द्धन गर्ने उपायलाई मुख्य उद्देश्य बनाई तालिमका विषयविज्ञ, प्रमुख प्रशिक्षक तथा पोखरा विश्वविद्यालयका उपप्रध्यापक इन्जिनियर सन्तोष खनाल र गण्डकी बहुप्राविधिकका सिभिल इन्जिनियरिङ्ग प्रशिक्षक तथा यस कार्यक्रम सहजकर्ता वा सहप्रशिक्षक इन्जिनियर मनोज पौडेलले वातावरणीय सुरक्षाका विभिन्न पक्षहरूबारे प्रशिक्षण दिएका थिए ।

प्रमुख प्रशिक्षक इन्जिनियर खनालले वातावरणीय सुरक्षाको महत्त्व स्पष्ट पार्दै, निर्माण कार्य र पूर्वाधार विकासका क्रममा देखिने वातावरणीय जोखिमहरूको पहिचान र तिनको न्यूनिकरणका उपायहरूबारे चर्चा गरे । उनले भने ‘पूर्वाधार विकास गर्दा वातावरणीय सन्तुलनलाई ख्याल गर्न अत्यावश्यक छ। यो कदमले मात्र दिगो र हरित विकासको सुनिश्चितता गर्न सकिन्छ । यसले मात्र दीर्घकालीन र दिगो विकासको मार्ग प्रशस्त गर्न सक्छ ।’

निर्माणका क्रममा हुने नकारात्मक असरहरू जस्तै जल, तथा वायु प्रदूषण, माटो क्षय र जैविक विविधतामा पर्ने असरहरूबारे चर्चा गर्दै तिनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे व्यावहारिक सुझावहरू प्रस्तुत गरे ।

सहप्रशिक्षक तथा सहजकर्ता इन्जिनियर पौडेलले परियोजना निर्माण कार्य र वातावतण बिचको अन्तरसम्बन्धका साथै सामाजिक सुरक्षाको महत्त्व बारे प्रकाश पार्दै थपे, “कुनै पनि परियोजना संचालन तथा निर्माण गर्नु पुर्व वातावरणमा पार्न सक्ने सकरात्मक र नकरात्मक प्रभावहरु परिचाहन गरि वातावरणीय प्रभाव मूल्यांकन गर्नु आवश्यक छ र यसका साथै निर्माण परियोजनाले स्थानीय समुदायमा पर्ने सामाजिक प्रभावलाई पनि ध्यान दिनु जरुरी छ ।”

स्थानीय जनताको सहभागिता, पुनर्स्थापना, र उनीहरूको हित सुनिश्चित गर्नु दीर्घकालीन विकासको आधार हो भन्नेमा जोड दिदै प्रशिक्षण दिए ।

यस्ता तालिमहरुले हामी जस्ता इन्जिनियरीङ विद्यार्थीहरुलाई भविष्यमा विकास निर्माणका परियोजनाहरुमा कार्य गर्दैगर्दा वातावरणीय तथा सामाजिक सुरक्षा ख्यालमा राखी काम गर्न मद्दत पुग्ने त्यसै तालिमा सहभागी विद्यार्थी सरिस रानाभाटले जानकारी गराए ।

यसैबीच, तालिममा बोल्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले यस्तै प्रकारका कार्यक्रमहरु आवश्यक रहेको बताउदै कार्यक्रम फलदायीरहेको जानकारी गराए ।

उक्त तालिममा गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरीङ, अटोवाइल इन्जिनियरीङ बिषयमा अध्यनरत बिद्यार्थीहरु, प्रशिक्षकहरु, कर्मचारीहरु गरी ६० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सक्रिय सहभागि रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ