७० हजार उडान साइकलपछि भव्य बिदाइ, नेपालमा १६ वर्षमा १८ लाख यात्रु चढे

बुद्ध एयर एटिआर-४२ नाइन एन एआइएन:

७० हजार उडान साइकलपछि भव्य बिदाइ, नेपालमा १६ वर्षमा १८ लाख यात्रु चढे

एटीआर जहाजले पूर्ण सञ्चालन अवधि पार गरेको संसारमा यो नै पहिलोपटक

buddha bye bye

बुद्ध एयरले मंगलबार डेढ दशक पुरानो आफ्नो एउटा एटिआर-४२ जहाजको भव्य बिदाइ गरेको छ। ‘९एन एआइएन’ कलसाइन रहेको एटिआर-४२ जहाजको बिदाइ स्वागत झैँ पानीको फोहोराले गर्‍यो।

१६ वर्षदेखि उडाइरहेको जहाजको उडान म्याद सकिएकाले जहाज बिदाइका लागि कम्पनीले आफ्नै ह्यांगरको प्रांगणमा ठूलो कार्यक्रम पनि आयोजना गरेको थियो। बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ ।

विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन। यसपछि जहाजलाई विदाइ गर्नैपर्ने हुन्छ।

बुद्धका अनुसार एटिआर विमानको आयु ७० हजार चक्र हुन्छ। कुनै पनि जहाज एकपटक उडेर अर्को विमानस्थलमा अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र मानिन्छ। त्यस्तै एकपटक इञ्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ। बुद्धको यो जहाजले मंगलबारसम्म यसरी करिब ७० हजार चक्र पूरा गरेको कम्पनीले जनाएको छ । लाइफ साइकल अवधिभर यात्रुलाई सेवा दिन सफल रह्यो।

बुद्धका अनुसार जहाजको पूर्ण सञ्चालन अवधि पार गरेर यसरी बिदाइ गरिएको नेपालमै पहिलोपटक हो। अझ एटिआर जहाजको इतिहासमै पहिलोपटक भएको कम्पनीको भनाइ छ। एटिआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च-इटालियन जहाज निर्माता कम्पनी हो।

विमानमा प्रयोग भएका उपकरण र मेसिनको आयु तीन कुरामा निर्भर हुन्छ।

पहिलो उडान घन्टा, दोस्रो चक्र र तेस्रो अवतरण। एटिआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये ‘नाइनएन एआइएन’ जहाज पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने पहिलो जहाज बनेको छ।

यो जहाजले नेपाल आउनुभन्दा पहिले नै करिब ३० हजार उडान साइकल पूरा गरेको थियो। बाँकी नेपाली आकाशमा आफ्नो उडान अवधि पूरा गरेको कम्पनी बताउँछ ।

४७ जना यात्रु क्षमता भएको यो जहाजले १६ वर्षको अवधिमा १८ लाख यात्रुलाई सेवा दिएको छ।

यो जहाजको नियमित जाँचबाहेक लामो समय ह्यांगरमा राखेरै मर्मत गर्नुपर्ने अवस्था नआएको कम्पनीले जनाएको छ ।  यसले ६९ हजार ९९९ साइकल पूरा गरेको छ। एक साइकल बाँकी हुँदा यसको सुखद बिदाइ गरिएको हो ।

निर्माता कम्पनीले तोकेबमोजिम साइकल पूरा गरेर उडान रोकिएको यो जहाज अब आकाशमा देख्न पाइने छैन। उनका अनुसार अब यो जहाजको ‘बडी’ बाहेक अन्य सबै पार्टपुर्जा अर्को जहाजमा प्रयोग गरिन्छ।

अहिले बिदाइ भएको एटिआर सन् १९९७ डिसेम्बर २८ बाट उडानमा आएको हो। कम्पनीका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार फ्रान्सेली क्षेत्रमा पर्ने टापू न्यू क्यालेडोनियाको एयर क्यालेडोनियाले सबभन्दा पहिले यो जहाजबाट उडान गरेको थियो। बुद्ध एयरले सो जहाज सन् २००८ सेप्टेम्बरमा नेपाल ल्याएको थियो।

कम्पनीले त्यो वर्ष आइएफसीको ऋण सहयोगमा दुइटा एटिआर-४२ जहाज भित्र्याएको थियो।

सेप्टेम्बर ७ बाट यो जहाजले माउन्टेन उडानबाट नेपाली आकाशमा व्यावसायिक उडान सुरू गरेको थियो। माउन्टेनसँगै आन्तरिकतर्फका सबैजसो गन्तव्यमा नियमित उडान गर्दै आइरहेको थियो।

नेपाली आकाशमा माउन्टेन उडान सुरू गरेको १६ वर्ष ३ दिनपछि यसको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ। मंगलबार बिहान ९:३० बजे उक्त जहाजले अन्तिम उडान स्वरूप माउन्टेन फ्लाइट गरेको थियो। एटिआर कम्पनीका प्रतिनिधि, प्राविधिक टिम, बैंकका सिइओ लगायत यसमा उडेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ११ बजे जहाज अवतरण गरेपछि कम्पनीले आफ्नै ह्यांगरमा उक्त जहाज व्यवस्थापन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ