स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक

स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक

parbat program

पोखरा । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेतर्फ आफ्नो र प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताएका छन् । स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा सोमबार मन्त्री पाठकले जनताको स्वास्थ्य र स्वास्थ्य क्षेत्र आफूहरुको प्राथमिकता रहेको सुनाए ।

मन्त्री पाठकले नसर्ने रोगको समस्यालाई स्थानिय तहसँग समन्वय गरी त्यसको न्यूनिकरण तथा रोकथामको प्रयास गर्ने, स्वास्थ्य क्षेत्रमा हुने बेथिति रोक्न प्रयास गर्ने बताए । उनले कोही कसैलाई पनि गलत काम गर्ने छुट नरहेको सुनाए । ‘संवेदनशील क्षेत्रमा काम गर्न आएका छौं, सीमित स्रोत साधनको प्रयोगले पनि सर्वसाधारणले स्वाथ्यको सुविधा पाउने र हरेक क्षेत्रमा नतिजा आउने गरेर काम गर्नुपर्ने छ,’ उनले भने ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वत, जिल्लाका ७ स्थानीय तहका स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा गरेका काम र प्रगतिको समिक्षा गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जिल्लाको स्वास्थ्य क्षेत्रमार्फत धेरै जनता लाभान्वित भएको बताए । उनले स्वास्थ्य कार्यलयको दरबन्दी सबै आपूर्ति भएको, आधारभूत अस्पतालमा पनि चिकित्सकको व्यवस्था गरेको जानकारी गराए । उनले जिल्लाका स्वास्थ्य समस्या मन्त्री पाठकलाई अवगत गराएका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, फलेवास नगरपालिकाकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटा, पैयु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेल, महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बराल, विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसाल, मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका उमेशकुमार अधिकारी र जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका गणेश मल्लले पालिकामा स्वास्थ्य क्षेत्रमा भएका प्रगति, समस्या र चुनौती जानकारी गराएका थिए ।

जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्वास्थ्यमन्त्री पाठकसहित जिल्ला समन्वय समितीका प्रमुख विष्णुराम विक, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. रेखा पौडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीलगायतको उपस्थिति थियो ।

कार्यालय प्रमुख प्रविण शर्माको अध्यक्षतामा भएको कार्यक्रम परिवार नियोजन निरीक्षक नारायणप्रसाद रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ