काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल

पोउवा संघको ३५ औं महाधिवेशनः

काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल

Arjun Pokhrel Speech

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ ।

यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अर्का उम्मेदवार गोकर्ण कार्की छन् ।

अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो ।

उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उमेदवार अर्जुन पोखरेलले हारबाट विचलित नभई आफ्नो प्रतिवद्धताहरु पुनः लिएर व्यवसायी माझ आएको बताए ।

‘मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा मैले यही फोरमबाट भनेको थिएँ । म हारबाट बिचलित हुँदिन, पुनः एकचोटी आफ्नो अनुभवलाई संघमा नेतृत्व गर्छु भन्ने प्रतिवद्धता लिएको थिएँ, त्यसै अनुरुप आज तपाईँहरु समक्ष उभिएको छु ।’ उनले भने ।

उनले संघलाई राम्रो बनाउन टीम चाहिने भएकाले त्यो टिम आफुहरुले लिएर आएको समेत बताए । ‘हिजो ३४ औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका साथीहरु मसँगै लामो समय सहकार्य गरेका साथीहरु थिए’, उनले भने, ‘विगतको हारको अनुभवलाई हेर्दै गर्दा निर्वाचनमा विजयी हुन र संघलाई राम्रो टीम चाहिने भएकाले वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई लिएर निर्वाचनमा होमिएको छु, आशा छ सबै व्यवसायीहरुले हाम्रो टीमलाई विश्वास गर्नुहुनेछ ।’

उनले पोखरा उद्योग वाणिज्य संघ र स्थानीय सरकार पोखरा महानगरपालिकाबीच सहकार्य र समन्वय नहुँदा त्यसको असर व्यवसायीहरुले भोग्न परेको समेत बताए । ‘हिजोका दिनमा पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासका निम्ति छलफलको थलो बनेको थियो, तर अहिले तीनै तहको सरकारसँग सहकार्य र समन्वय हुन सकेको छैन’, उनले भने, ‘सरकारसँगको सहकार्य र समन्वय नहुँदा पोखराको विकाससँगै व्यवसायीहरु धरापमा परेका छन्, त्यसैले थलिएको पर्यटन र व्यवसायलाई माथि उठाउन हामी टिमसहित आएका छौं ।’

भदौं २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिवद्धतापत्रसहित व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । अर्जुन पोखरेल प्यानलबाट उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष पदमा निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचन समितिले निर्विरोध घोषणा गर्न बाँकी छ ।

अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका पदाधिकारीहरुले व्यवसायीहरुको समस्या समाधान र सुस्ताउँदै जान थालेको पर्यटन र व्यवसायलाई चलायन बनाउन आफुहरु लागि पर्ने बताउँदै एकल रुपमा नभएर टीमबाट नै समस्याको समाधान हुने भएकाले प्यानलबाट १६ बुँदे प्रतिवद्धता पत्र लिएर आएको बताएका छन् ।

अर्जुन पोखरेल प्यानलबाट अध्यक्षमा अर्जुन पोखरेल, उपमहासचिवमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापाको उम्मेदवारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ