पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी २०८४ को चुनावमा एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएको छ । पार्टीको मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा यसै विषयमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरे ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ३३ पृष्ठ लामो उक्त कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय संगठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्यांकन गरिने कुरा समेटिएको छ । उनले भने, ‘पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्यांकन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन् ।’
एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित यसअघि दुई चरणको अभियान पूरा गरिसकेको एमालेले तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ । केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको हो ।
जसमा सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ ।
प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् ।
भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ ।
प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताए ।
पार्टीले आगामी वर्ष २०८२ भित्रै १० लाख पार्टी सदस्य बनाउने लक्ष्य पहिलो प्रस्तावमा छ । १०आंै राष्ट्रिय महाधिवेशनपछि जोड दिएर सञ्चालन भइरहेको सदस्यता नवीकरण र नयाँ वितरण अभियानलाई १० लाख बनाउने लक्ष्य लिइएको हो । वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउँदा १० लाखको योजना पूरा हुने एमालेको योजना छ ।
पार्टी बलियो बनाउन पारदर्शी विधिबाट नियमित अधिवेशनमा जोड दिइनुपर्ने प्रस्ताव छ । गत वर्षभर ११ वटा बाहेक सबै जिल्लाका अधिवेशन गरेको एमालेले अब गरिने अधिवेशनहरुबारे व्यवस्थित कार्यविधि प्रस्ताव गरेको छ ।
नियमित अधिवेशन गर्दा सकेसम्म सर्वसम्मतको प्रयास गर्ने नभए निष्पक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नेछ ।
पार्टीको कार्यको मूल्यांकनसमेत नियमित र व्यवस्थित गरिनुपर्ने प्रस्ताव छ । हरेक कमिटीका नेताहरुको मूल्याकंन माथिल्लो कमिटीबाट गरिनुपर्ने प्रस्ताव छ । त्यसरी मूल्यांकन गर्दा केन्द्रीय पदाधिकारीको समेत मूल्यांकन हुने उल्लेख गरिएको बताइएको छ ।
पार्टीले जनताको विश्वास जित्न पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार महत्वपूर्ण हुने उल्लेख छ । जसमा ‘पार्टी जीवनको शुद्धीकरण’ शीर्षकमा एमालेले सरल र नैतिक नेता–कार्यकर्ता बन्न÷बनाउन लाग्नुपर्ने प्रस्ताव गरिएको छ । सरल जीवनशैलीलाई बढावा दिने र आर्थिक तथा यौन आचरणका विषयमा कारबाही गरिनुपर्ने प्रस्ताव छ ।
यसैगरी, एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आगामी मंसिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उनले बताए ।
दोस्रो दिन बुधबार सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो