पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराले ६५ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रम गरी सोमबार मनाएको छ । समारोहमा त्रिभुवन विश्वविद्यालय (त्रिविवि)का शिक्षाध्यक्ष प्राडा खड्ग केसीले राष्ट्रिय झण्डा र क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले त्रिविविको झण्डोत्तोलन गरे ।
केसीले क्याम्पस परिसरमा बेलको बिरुवासमेत रोपे । स्वर्ण जयन्ती स्मृति भवन भानुहलमा भएको मुल समारोह उद्घाटन गर्दै शिक्षाध्यक्ष केसीले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधारको विकासको लागि विश्वविद्यालयको सहयोग रहने बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई केन्द्रमा राखेर क्याम्पसले गर्ने अध्ययन, अनुसन्धानमा महानगरको साथ सहयोग रहने वाचा गरे । क्याम्पसले सबै क्षेत्रमा नेतृत्व प्रदान गरेको र निकै ठूलो जनशक्ति मुलुकलाई प्रदान गरेको उनले उल्लेख गरे । मेयर आचार्यले पोखरामा दुई विश्वविद्यालय भएकोमा पृथ्वीनारायण क्याम्पस विश्वविद्यालयसरह रहेको टिप्पणी गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राडा कोइरालाले विद्यार्थी संख्या, शैक्षिक कार्यक्रम, संलग्न मानवीय जनशक्ति, भौतिक सुविधा, प्राज्ञिक एवं अनुसन्धान गतिविधि, जर्नल प्रकाशन लगायतका पक्षले क्याम्पस त्रिविविको सबैभन्दा महत्वपूर्ण शैक्षणिक निकाय भएको जानकारी दिए ।
‘नेपालले संघीयता र विकेन्द्रीकरणको नीतिलाई अंगिकार गर्दा विश्वविद्यालयले साना साना अधिकारलाई केन्द्रीकृत गरी राखेको छ,’ उनले भने, ‘यति ठूलो र महत्वपूर्ण निकायले समेत अत्यावश्यक आंशिक शिक्षक र ज्यालादारी कर्मचारी क्याम्पसले सुविधा दिने गरी राख्न पाएको छैन ।’
उनले सेवा आयोगमार्फत जनशक्ति परिपूर्ति नभएको र थुप्रै कर्मचारी अवकास हुँदा समेत क्याम्पसले केही गर्न नपाएको बताए । उनले १ सय ४३ कर्मचारी दरबन्दी रहेकोमा ७६ जनाले काम चलाउनु परेको सुनाए ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, त्रिविवि प्राध्यापक संघ पृथ्वीनरायण क्याम्पस इकाई सभापति सहप्राडा लक्ष्मीराज अधिकारी, विद्यार्थी कल्याण प्रमुख उपप्रा डा. बोधराज ढकाल, त्रिविवि कर्मचारी संघ पृथ्वीनारायण क्याम्पसका सभापति धनबहादुर गुरुङ लगायतले क्याम्पसको शैक्षिक अवस्थाबारेका बोलेका थिए ।
कार्यक्रममा तराई कानुन विद्यार्थी मञ्च लगायतका विद्यार्थी, क्याम्पसका कर्मचारीले नृत्य प्रस्तुत गरे । विभिन्न पुरस्कार र छात्रवृत्ति वितरण गरियो । यसैबीच पृथ्वीनारायण क्याम्पसले २०३५ देखि भोगचलन गरेको जग्गाको बारेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायत नापी विभागको टोलीले सोमबार स्थलगत अवलोकन गरेको छ । मन्त्री अधिकारीले सो जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याएर क्याम्पसलाई भोगाधिकार दिने प्रतिवद्धता गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी