गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’

मन्त्री प्रोफाइल

गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’

शीर्ष नेताहरूको चाहनामा मन्त्री अवसर

kp-pathak-photo

पोखरा । बागलुङका कृष्णप्रसाद पाठक गण्डकी सरकारको स्वास्थ्य मन्त्री बनेका छन् । २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य बनेका पाठक सोमबार स्वास्थ्य मन्त्री बनेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट पाठक केन्द्रकै निर्देशनअनुसार मन्त्री बनेका हुन् ।

को हुन् कृष्ण पाठक ?

बागलुङको अमलाचौर गाउँ (हाल बागलुङ नगरपालिका १२) मा २०१९ साल माघ ११ गते जन्मिएका पाठक १२ वर्षको हुँदाबाटै राजनीतिमा सक्रिय रहे । बागलुङमा मसालको दबदबा थियो । त्यो समय २०३१ सालमा उनी मसालको विद्यार्थी संगठनसँग नजिक भए । सात वर्ष विद्यार्थी राजनीति गरेपछि उनी नेकपा (मसाल)को सेल कमिटीमा संगठित भए । उनलाई विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी दिइयो ।

२०४१ सालमा नेकपा (मसाल) परित्याग गरेर पाठक नेकपा मालेमा आबद्ध भए । त्यो समय राजाको विरोध गर्नेहरू कारबाहीमा पर्थे । राजतन्त्रको विरोध गरेको अभियोगमा उनले २०४५ सालमा राजकाज मुद्दा व्यहोर्नुपरेको थियो । त्यतिबेला उनी सात दिन हिरासतमा बसे । हिरासतमुक्त भएपछि पनि उनी राजनीतिक गतिविधिमा सक्रिय थिए । २०४६ सालमा प्रथम जनआन्दोलन भयो । जनआन्दोलनकै वर्ष उनी नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित भए ।

उनी एमालेको लडाकु दस्ता पिपुल्स भोलुन्टियर्सको संस्थापक केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य र बागलुङ अध्यक्ष थिए । २०४८ को संसदीय निर्वाचनमा बाग्लुङबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार बने । चुनाव हारे पनि उनी संठगन निर्माणमा खटिरहे । २०४६ देखि २०५८ सम्म १२ वर्ष पाठक नेकपा (एमाले) को संगठन निर्माण अभियानमा सक्रिय भए । त्यतिबेला बागलुङमा नेकपा (मसाल)को दबदबा थियो । उनी पटकपटक कुटपिट र आक्रमणको सिकार भए ।

२०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा पाठक संस्थापन पक्ष (मनमोहन, माधव, केपी) सँगै थिए । उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल र पिपुल्स भोलेन्टियर्स नेपालको केन्द्रीय सदस्य भएर काम गरेका छन् । पाठक नेकपा (एमाले)को पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि भए ।

२०५२ सालपछि माओवादीको जगजगी बागलुङको गाउँगाउँमा थियो । माओवादीहरू गाउँ नजिकै र गाउँकै सार्वजनिक सम्पत्ति कब्जा गरेर बस्थे । पाठकको गाउँ अमलाचौरमा पनि माओवादीले गाविस भवन कब्जा गरेर बसेका थिए । उनले त्यसको विरोध गरे । त्यसपछि माओवादीहरू त्यहाँबाट हटे । तर, उनीहरूले पाठकको परिवारलाई दुःख दिन थाले । माओवादीले २०६१ चैत २९ गते गाउँबाट लखेटे, पाठकलाई डेथ वारेन्ट जारी गरे ।

माओवादीले लखेटेपछि परिवार बागलुङ बजार पसेको पाठकले सुनाए । डेथ वारेन्ट जारी भएकाले उनी खुलेआम हिँड्न मिल्ने परिस्थिति थिएन । उनी लुक्दै, पार्टीका कार्यक्रममा सहभागी हुन्थे । २०६२ साल चैत अन्तिममा दोस्रो जनआन्दोलन सुरू भयो । त्यो आन्दोलनको क्रममा पाठक प्रहरीबाट गिरफ्तार भए । त्यतिबेला उनी १९ दिन हिरासतमा बसेका थिए । २०६२÷२०६३ सालको जनआन्दोलनमा प्रहरी हस्तक्षेपमा परी उनी गम्भीर घाइते भएका थिए । उनको मेरूदण्डमा चोट लागेको थियो ।

२०६३ साल मंसिरमा सरकार र माओवादीबीच शान्ति सम्झौता भयो । यसपछि बल्ल पाठक खुलेर हिँड्न पाए । ‘गाउँबाट लखेटेपछि हाम्रो परिवार नै बागलुङ बजार सरेको हो,’ पाठकले थपे, ‘मलाई वारेन्ट जारी भएपछि म पनि बाहिर खुलेआम हिँड्न डर भयो । म पनि बागलुङ बजारतिरै बसेँ ।’

उनले २०६७ सालमा नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी पाए । २०७४ सालमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भए । माओवादीसँगको एकता सफल नभएपछि २०७७ फागुनमा नेकपा विभाजन हुँदा संस्थापन पक्षमै रहिरहे । २०७८ सालमा कार्यबहाक अध्यक्षको जिम्मेवारी पाए । २०७८ साल भदौमा एमाले विभाजन हुँदा मूलधार नेकपा (एमाले)मै रहेर बागलुङमा माधव नेपालसँग जान लागेका धेरैलाई एमालेमै राख्न पाठकले सक्रिय भूमिका खेलेका थिए । त्यही वर्ष पुसमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार थिए । तर, चुनाव जित्न सकेनन् ।

पाठक २०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य बने । साथै प्रदेशको विज्ञान तथा प्रविधि विभाग प्रमुखको जिम्मेवारी पाए । २०७९ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए । २०८० साल असोजमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट उनी सदस्य निर्वाचित भएका थिए ।

उनी संसदका सक्रिय सदस्य हुन् । गत असार ११ गते गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णप्रसाद पाठकले रोस्टममा उभिएर दिएको अभिव्यक्तिले संसदकै ध्यान खिचेको थियो । आफ्ना योजना नपरेको भन्दै सांसद पाठकले कांग्रेस नेतृत्वको सरकारप्रति असन्तोषमात्र व्यक्त गरेनन्, बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिका नै जलाउने चेतावनी दिएका थिए ।

पाठक पार्टीको आन्तरिक राजनीतिमा स्थायी कमिटी सदस्य खगराज अधिकारीले गण्डकीमा नेतृत्व गरिरहेको महासचिव शंकर पोखरेल समूहका हुन् । तर, उनको सम्बन्ध अर्को समूहको नेतृत्व गरिरहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पनि राम्रो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ