गण्डकीमा अब ९ मन्त्रालय, २ मन्त्रालय फुटाइए

गण्डकीमा अब ९ मन्त्रालय, २ मन्त्रालय फुटाइए

४ मन्त्रालय सम्हाल्दै एमाले सरकारमा सहभागी हुने

surrendra raj pandey cm

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ ।  आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकले अहिले रहेका ७ वटा मन्त्रालयमा २ वटा मन्त्रालय थप्ने निर्णय गरेको हो। अब सत्ता गठबन्धनको साझेदार नेकपा एमाले गण्डकी सरकारमा सहभागी हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रम गरी उनले कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको बताए ।

‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९ वटा मन्त्रालय गण्डकी प्रदेशमा कायम गर्ने भनेर निर्णय गरेका छौं’, उनले भने ।

अहिले विभाजन गरिएका दुवै मन्त्रालयका २/२ स्थानमा कार्यालय, सचिवसहितका कर्मचारी र संरचना छन्।  वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए ।

मुख्यमन्त्री पाण्डेले अब १/२ दिनमै एमाले सरकारमा सहभागी हुने बताए। प्रदेशमा ५ मन्त्रालय नेपाली कांग्रेस र ४ मन्त्रालय एमालेले लिने सहमति यसअघि भइसकेको छ।

मुख्यमन्त्री पाण्डेले भने – ‘छिट्टै नै नेकपा एमालेका तर्फबाट ४ जना मन्त्रिपरिषदमा समावेश हुनुहुन्छ र संघीय गठबन्धन अनुसार गठबन्धन कायम भएर अगाडि बढ्छ ।’

गण्डकी सरकारमा कांग्रेस र एमालेले कुन कुन मन्त्रालय लिने भन्ने निर्क्योल भने नभएको मुख्यमन्त्री पाण्डेले बताए ।

अहिले गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद् छ। मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई अबको सरकारमा पनि मन्त्रीमा निरन्तरता दिइने बताए। एमाले–कांग्रेस दुवै दलबीच उनीहरूलाई कांग्रेसकै कोटाबाट मन्त्री बनाउने सहमति भएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभा रहेकाले कानुनानुसार २० प्रतिशत अर्थात् १२ जना मन्त्रालय बनाउन मिल्छ । यसअघि काँग्रेसकै कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएपछि १२ वटा मन्त्रालय बनाइएकोमा निर्वाचनपछि बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले ७ मा झारेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds