प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले बंगलादेशबाट सिक्नु पर्ने’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको भनाइको कडा शब्दमा प्रतिवाद गरेका छन् ।
प्रचण्डले कांग्रेस एमालेको सरकारले संसद्को गणितका आधारमा शासन गर्न खोजेको भन्दै बंगालादेशकाे राजनीतिक उथलपुथलबाट शिक्षा लिनुपर्ने भन्दै आएका छन् । ओलीले सरकारले नभई ‘१० वर्षे हिंसात्मक द्वन्द्व’ को नेतृत्व गरेको प्रचण्डले ‘राम्ररी सिक्न’ चेतावनी दिएका छन् । उनले आफूले नभई प्रचण्डको नेतृत्वमा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै आफूले खुट्टा कमाउनु पर्ने कुनै कारण नभएको बताए ।
‘हिजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ?’, ओलीको चेतावनी छ, ‘श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर जो चर्को स्वरमा भन्दै हुनुहुन्छ । म भन्दैछु राम्ररी सिक ।’
उनले बंगालादेशमा भएको राजनीतिक उथलपुथल नेपालमा संभव नभएको दाबी गरे । ‘बंगलादेशमा केही भयो भने नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी होइन,’ उनले भने ।
उनले संविधानलाई देश र जनताको पक्षमा परिस्कृत गर्दै जाने उल्लेख गर्दै माओवादी प्रजातन्त्रको विरुद्ध लागेका हुनाले चर्को स्वर गर्न उचित नभएको बताए । ‘जो यो प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो उसैका ठूला कुरा ?’ ओलीको भनाइ थियो, ‘अब कहिल्यै पनि त्यस प्रकारको हिंसा संभव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ?’
उनले आफू पनि बारुदका बीचमा यात्रा गरेर आएको उल्लेख गर्दै माओवादी सशस्त्र युद्धको विरोध गर्दै आएको बताए । ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेका बेला, अन्धाधुन्द लुटिरहेको बेला, मान्छे मारिरहेका बेला चर्को विरोध गरेँ’ उनले भने, ‘मैसँग सेना थिएन, प्रहरी थिएन चर्को विरोध गरेँ । विरोधमात्र गरिनँ, कसरी वार्ता संवादको प्रयास गरेँ ।’
ओलीले शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध भएको बताए । राजनीतिप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लग्ने प्रयास भइरहेको उनले बताए । ‘अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन,’ उनले भने, ‘आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’
प्रधानमन्त्री ओलीले राज्यका निकायले कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै न्यायोचित कानुनलाई सबैले मान्न पर्ने बताए । ‘कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवनपद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं,’ उनको भनाइ थियो ।
उनले आफूलाई एक वर्ष १० महिना सरकारको नेतृत्व गर्ने समय भए पनि त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते