गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]

पुतलीको भट्टी भाग-२०

गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]

प्रतिघण्टा झण्डै लाख पटक हेर्दै ११ लाख नाघ्यो, १ लाख लाइक, १२ हजार कमेन्ट

तीज नजिकिएसँगै चर्चाको शिखरमा पुग्ने गायिका हुन्, विष्णु माझी । अधिकांश नेपालीलाई तीजका बेला विष्णुले कस्तो गीत ल्याउलिन् भन्ने चासो निकै हुन्छ । पछिल्लो समय उनले भूमिगत शैलीमा आफ्ना गीत सार्वजनिक गर्दै आएकी छन् । यस वर्ष पनि तीज गीत  सार्वजनिक गरेकी छन् ।

विष्णुको स्वरमा शनिबार बिहान ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमा सार्वजनिक गीतले १४ घन्टामा नै ११ लाख भ्युज बटुलिसकेको छ । गीतमा १ लाखले लाइक दबाएका छन्, १२ हजार बढीले त प्रतिक्रिया नै जनाइसकेका छन्, ती पनि सबै सकारात्मक । विष्णुको स्वरको गीत सुन्न नपाएसम्म तीज आएको जस्तो नै नलाग्ने उनीहरूको भनाइ छ ।

गीत माझीका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको हो । आशिष अविरलको संयोजनमा रागामा रेकर्डस्‌मा रेकर्ड गरिएको गीतको भिडियो सुन्दरमणिकै निर्देशनमा तयार पारिएको छ ।

मौसम हिमालीको कोरियोग्राफी र शम्भु चालिसेले छायांकन गरेको भिडियो प्रवीन भट्टले सम्पादन गरेका हुन् । भिडियोमा ललिता पौडेल माइत जान नपाएकी चेलीको भूमिकामा छिन् । पौडेल यसअघि माझीको चर्चित गीत ‘चरी जेलैमा’ को भिडियोमा थिइन् । गीतको भिडियोमा भने विष्णुलाई देख्न पाइँदैन । ‘आइनँ आमा यो तीजमा’ गीत आइट्युन्स, अमेजन, स्पटिफाइ, एप्पल म्युजिक, टिडाल, साउन्डक्लाउड, अडियोम्याक लगायतका प्लेटफर्मममा समेत उपलब्ध रहेको उल्लेख गरिएको छ ।

‘पुतलीको भट्टी’ भाग २० का रूपमा सार्वजनिक गीतमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देशसँगै वेदना समेटिएको छ । झन्डै १७ मिनेट लामो गीतका शब्द निकै सुझबुझपूर्ण तवरले बुनिएका छन् । ‘लाइछु, खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन’ गीतको एक अंश सुन्दा चेलीले खुसीसाथ आफ्नो घर गरेकी जस्तो लाग्छ । तर भिडिओमा भने उही चेलीको पीडा र वेदना देखाइएको छ । यसको अर्थ आफूले रोएरै जीवन बाँचे पनि आमालाई पीर नपरोस् भन्ने सन्देश दिइएको छ ।

विष्णुको स्वरमा तीन वर्षअघि सार्वजनिक गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ निकै चर्चित भएको थियो । ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गीतको हालसम्मको भ्यूज ५ करोड ३० लाखभन्दा बढी छ । त्यसो त उनले गाएका आधा दर्जनभन्दा बढी गीत ‘करोड क्लब’ मा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका माझीको स्वरका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

तर पनि ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतले अत्यधिक चर्चा बटुल्नुका कारण उनको जीवनशैली पनि हो । गीतलाई गायिका विष्णुकै जीवनसँग जोडेर पनि विभिन्न अनुमानहरू गरिएका थिए । कतिपयले त विष्णु नै उनका पतिको ‘जेलमा’ रहेको बताएका थिए । गायन यात्रामा सफलताको उकालो चढ्न थालेदेखि नै विष्णु सार्वजनिक जीवनमा देखिएकी छैनन् ।

त्यसयता उनी गीत रेकर्ड गर्न सुन्दरमणिका साथमा रातको समयमा स्टुडियो जाने गरेकी छिन् । सामाजिक सञ्जालमा कतै छैनन्, केही पुराना तस्बिर मात्र सार्वजनिक छन् । सार्वजनिक जीवनबाट ‘गुमनाम’ भएपछि ६ वर्षअघि उनको खोजी भएको थियो । कान्तिपुर दैनिकले विष्णु गुमनाम भएकी र ११ वर्षदेखि बाबुसँग पनि भेट नभएको समाचार प्रकाशन गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले उनको अवस्था खोजी गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जा (विष्णुकाे माइती जिल्ला) लाई पत्राचार गरेको थियो । त्यसपछि सुन्दरमणिले विष्णुलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएका थिए । त्यसक्रममा प्रहरीले विष्णुलाई परिवारसँग पनि भेटाएको थियो ।

पछिल्लो गीत चर्चामा आएपछि फेरि उनको खोजी हुन थालेको छ । गीतमा प्रतिक्रिया दिने कतिपयले त उनको सार्वजनिक जीवनका विषयमा पनि प्रश्न गरेका छन् । अघिल्लो वर्षको चर्चित गीत ‘जेलैमा हो, जेलैमा’ को सन्दर्भ उठाउँदै सीताराम सापकोटाले लेखेका छन्, ‘चरी पक्कै जेलमा छिन् । तर बेलाबेलामा चिरबिर गरेको सुनिन्छ । त्यही चरीको आवाज यति धेरै प्यारो लाग्छ ।’ त्यससँगै माझी सार्वजनिक जीवनमा आउनुपर्ने पक्षमा पनि आवाज उठेको छ । ‘विष्णु माझी अब लाखौं दर्शकहरूमाझ सार्वजनिक हुनुपर्छ भन्ने जति हाजिर हौं,’ भीम साउदले गीतको ‘कमेन्ट सेक्सन’मा लेखेका छन् ।

पछिल्लो समय तीज गीतका नाममा विकृति फैलाइएको भन्दै कतिपय गायक/गायिकाको आलोचना हुने गरेको छ । यस क्षेत्रका स्रष्टाहरूले मात्र होइन, सामाजिक सञ्जालहरूमा दर्शकश्राेताले समेत केही गीतका शब्द र भिडियोको चर्को आलोचना गरेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि केही गायक/गायिकालाई सदस्यबाट निलम्बनसमेत गरेको छ ।

तर शनिबार सार्वजनिक विष्णुको स्वरको गीतले भने सबैतिरबाट प्रशंसा बटुलेको छ । लोकदोहोरी तथा गायन क्षेत्रमा क्रियाशील स्रष्टाले गीतको तारिफ गर्दै सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।

गीतकार राजेन्द्र थापा

‘तीज भनेर अर्कै चिज छरिरहेको समयमा अचानक गरम मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे पानी परेको छ । एक वर्षाले सबै पखालेर लगेको छ ।,’ फेसबुकमा उनले लेखेका छन् ।

गायक तथा संगीतकार बसन्त थापा

‘बल्ल तीज आएझैं भो, प्यासीले पानी पाएझैं भो, सफलताको शुभकामना सुन्दरमणि दाइ ! हीरा लुकाएर किरालाई मौका मिलेको छ, तिम्रो बुद्धि फिरोस्, कामना !’

त्यस्तै, गायक शिरीष देवकोटाले ‘पुनः उकृष्ट गीत बनेको’ उल्लेख गरेका छन् । गायक कुलेन्द्र विश्वकर्मा, गायिका लक्ष्मी न्यौपानेलगायतले पनि गीतको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ