योगी पाइलट बाबाको निधन

योगी पाइलट बाबाको निधन

PIlot-Baba-Death-Cover

योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए ।

पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध भए ।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए ।

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।

जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ मा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।

उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए ।  उनले भारत सरकारबाट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमान राखेका थिए ।

उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरी विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

उनले  हिमालयमा बसेर नेपालमा तपस्या गरे  । सत्य एवम् स्वयंको खोजका लागि भौंतारिंदै हिंडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डीमै हरि बाबाले उनलाई संन्यास दीक्षा दिए।  हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।

संन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौं वर्ष कठिन तप गरे। साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए। भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौं स्थानमा दश महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौं मानिसलाई सद्‌मार्गमा ल्याए। भक्तपुरको सूर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए ।

नेपालमा विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित पाइलट बाबा उज्जैन पीठाधीश्वर समेत रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ