जनैपूर्णिमामा क्वाँटी किन खाने ? यस्ता छन् फाइदा

संस्कृति

जनैपूर्णिमामा क्वाँटी किन खाने ? यस्ता छन् फाइदा

Kwati

आज जनै पूर्णिमा । यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । जस्तो तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा ।

झ्ट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । यो त केवल आडम्बर हो । पुरातन संस्कार हो । परम्परा धान्नका लागि मात्र यसो विधि पुर्‍याउने हो ।

तर, हाम्रा पुर्खाले यस्ता संस्कार बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व हुन्छ । चर्चा गरौं क्वाँटीको ।

जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।

परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।

किन खाने क्वाँटी ?

हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।

तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । जनै पूर्णिमा नै किन त ?

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।

खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

यस्ता छन् क्वाँटीका फाइदा:

पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

  • कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
  • मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एक पटक सल्लाह लिन आवश्यक छ ।
  • यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
  • तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
  • यो सजिलै पाच्य हुन्छ।
  • पेटमा अनावश्यक वायु बनाउँदैन ।
  • क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
  • रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
  • रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।
  • क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढ्छ ।
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
  • रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।
  • टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा सङ्क्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
  • पाचनशक्तिमा सुधार ल्याउँछ ।
  • गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ

तर, कति खाने ?

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ ।
किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँट सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ