सोलुखुम्बु थामे खोला बाढीः १ जना बेपत्ता, १२ घरसहित विद्यालय र स्वास्थ्यचौकीमा क्षति

सोलुखुम्बु थामे खोला बाढीः १ जना बेपत्ता, १२ घरसहित विद्यालय र स्वास्थ्यचौकीमा क्षति

solu badhi

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।

वर्षातविना नै कोशीमा आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

 उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले थप मानवीय क्षति भने हुन पाएन ।

थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । क्षतिबारे बुझ्न काठमाडौंमै रहेको पालिका अध्यक्ष मिङ्मार छिरि शेर्पा लगायतका जनप्रतिनिधिको टोली अनुकूल मौसमको पर्खाईमा त्रिभुवन विमानस्थलमा रहेका छन् ।

बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds