मनाङमा मौलिक घर हराउँदै

मनाङमा मौलिक घर हराउँदै

manag-houses

मनाङ । ‘पहिले सल्लाका फलेकले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फलेकले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो’, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले सम्झिए ।

जंगलमा गएर सल्लाका रुख काटी फलेक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनी बताउँछन् । ‘जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरुप पनि फेरिन थालिसक्यो’, उनी भन्छन् ।

पहिले माटो र काठले बनेको घरहरू अहिले कंक्रिटको मात्र बन्न थालेका छन् । पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । ‘पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ’, उनी भन्छन्, ‘हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।’

करिब ५ वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौैँरीको सिङले बाँधेर कडा बनाइन्थ्यो ।

पुराना घर संरक्षण गर्नुपर्ने हो । तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन् । पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ भन्छन्, ‘पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।’ गत वर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले भने ।

पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे । तर विस्तारै कंक्रिटका घर अग्ला र जस्ता पाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका ९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्छन्, ‘यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रूपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।’

पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो । माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउँछन् ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको जनाए । भने, ‘माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।’

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनको भनाइ छ । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरू छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका ८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्छन्, ‘सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरुप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।’

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ । यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ