कास्कीमा एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेङ्गीको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
“समयमा नियन्त्रण गर्न नसके डेङ्गीले भयावह रुप लिन सक्छ”, उनले भने, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।” उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए। डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए। चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए ।
पोखरा महानगरपालिका डेङ्गीबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।
गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेङ्गी लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए । “असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने ।
‘खोज र नष्ट गर’
डेङ्गी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।
बिहीबार यहाँ आयोजित ‘डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे ।
उनले महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गीको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो