आफू मरेर बसका ३० यात्रु बचाउने चालक मेघनाथ बिकलाई सरकारले सम्मान गर्ने

वीर सपुतलाई सम्मान

आफू मरेर बसका ३० यात्रु बचाउने चालक मेघनाथ बिकलाई सरकारले सम्मान गर्ने

ऋणले थलिएकी आमालाई थोरै भएपनि राहत

meghraj-bk-chalak

निरन्तर वर्षाका बीच लु२ख ६५६६ नम्बरको बस असार २७ गते  राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गर्‍यो।

बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक। बस असार २८ गते बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो।

उक्त सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो।

अँध्याराे नै थियो। चालक विकले बसको गति केही कम गरे। त्यही बेला एक्कासि लेदोसहितको ढ‌ु‌ंगा चालक विकको टाउकोमा बज्रियो।

बसमा सवार यात्रुहरू निकै अत्तालिए। चितवन प्रहरीलाई यात्रुले बताएअनुसार चालक विकले दुखेको तोडमा पनि बस चलाइरहे र ५० मिटरजति पर लगेर ब्रेक लगाउन भ्याए।

चालक विकले ब्रेक लगाउन भ्याएकै कारण बस रोकियो र सवार ३० जनाभन्दा बढीको ज्यान जोगियो।

उनको अवस्था भने चिन्ताजनक भयो। टाउकोबाट धेरै रगत बग्न थाल्यो। यात्रुहरूले प्रहरीलाई खबर गरिदिए।

प्रहरीले तुरुन्त एम्बुलेन्स बोलाएर उपचारका लागि विकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज त पुर्‍याए।

तर गम्भीर घाइते विकको उपचारका क्रममा बिहान ४ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। अन्य यात्रु भने सकुशल रहे ।

आफू गम्भीर घाइते हुँदाहुँदै पनि चालकले बस नियन्त्रण गरेकोले थप क्षति हुन नपाएको र ३० जना यात्रुको ज्यान जोगिएको थियो।

पहिरोमा आफू मरेर अरु ३० यात्रुलाई बचाएका बसका चालक मेघनाथ विकलाई सम्मान गर्ने भएको छ ।

सोमबार बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बस चालक विकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय गरेको हो ।

आफू मरेर यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

‘त्यही दिन सिमलतालमा दुई वटा बस भेलबाढीले बगाएको थियो। त्यो घटनामा मानवीय क्षति बढी भएकाले सबैको ध्यान गयो। त्यस्तै प्रकृतिको अर्को दुर्घटनामा मेगराज विकले ३० जनाको ज्यान जोगाए। अरू चालकको आत्मबल उँचो राख्न पनि मेगराजको सम्मान गर्नुपर्छ। हामीले प्रतिवेदनमा यही सुझाव दिएका छौं,’ कार्यदलका संयोजक छवि रिजालले भने।

कार्यदलले मंगलबार प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो।

ऋणले थलिएकी आमालाई थोरै भएपनि राहत

मेघनाथकी ६५ बर्षीया आमा भानुमतीलाई  सरकारले गरेको यो निर्णयले थोरैभएपनि राहत भएको छ। कान्छो सन्तान मेघनाथलाई विदेश पठाउन र बुहारीलाई पसल राख्नका लागि भन्दै निकालेको १५/१६ लाख रुपैयाँ ऋणको भारी थुप्रियो। यो पीडाले पनि रातभर अनिँदो बस्ने भानुमतीको मनमा थोरै भए पनि आशा पलाएको उनी बताउँछिन्।

सम्मानसहित केही राहत पनि दिने भन्ने खबर गाउँका समाजसेवी मोहन बहादुर कार्कीले बिहान उनलाई सुनाएका छन्।

‘आँखाका आँशु रोकिएकाे छैन, खाने र सुत्नेको त ठेगान नै छैन नानी मेरो,’ भानु्मतीले रुँदै भनिन्, ‘बसमा भएका त्यत्रा मान्छेलाई बचाएर गयो। आफू पनि बाँचेको भए मैले मेरो मुटुको टुक्रालाई गुमाउन पर्ने थिएन। तर पनि सरकारले उसको कामकाे कदर गर्न लागेको सुन्दा खुसी नै लागेको छ। मेरो छोरो अमर रहोस्!’

काँधमा ऋणको भारीले झनै गलेकी भानुमतीलाई यो ऋण कसरी तिरौंला भन्ने पिरलो छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds