पोखराको केदारेश्वरसहित देशभरका शिवालयमा भक्तजनको भीड

साउनको तेस्रो सोमबार

पोखराको केदारेश्वरसहित देशभरका शिवालयमा भक्तजनको भीड

निकालियो बोलबम

pashupatinath-saune-sombar

पोखरा । साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीले भगवान शिवको पूजा आराधना गरी मनाएका छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरु शिव मन्दिरमा गएर पूजाआजा गरेका छन् ।

पोखरास्थित केदारेश्वर महादेवमणि मन्दिरमा आज बोलबम मेला लागेको छ । बोलबम यात्रीले पोखरा-१ स्थित गाईघाटबाट जल लिएर हिँडेरै केदारेश्वर मन्दिरमा पुगेर जल विसर्जन गर्ने गर्दछन् । योसँगै आज देशभर शिवालय मन्दिरमा भक्तजनकाे भीड लागेको छ ।

साउन महिनामा शिवभक्तले कलशमा पवित्र नदीको जल भरेर काँधमा झुण्डाएर आफ्नो क्षेत्रको शिवालयमा ल्याई शिवलिंगमा गंगा जल चढाउँछन् । यस्तो बोलबम यात्रालाई लिएर शिवभक्तमा निकै उत्साह देखिन्छ ।

धार्मिक मान्यताका अनुसार बोलबमको यात्राका कारण भगवान शिवले सबै भक्तको मनोकामना पूरा गर्नुका साथै जीवनका सबै दुःख-कष्ट हर्छन् । पुराणमा भनिएको छ, बोलबम यात्रा भगवान शिवलाई प्रशन्न गर्ने सबैभन्दा सजिलो उपाय हो ।

मान्यता अनुसार भगवान परशुरामले सबैभन्दा पहिले बोलबम यात्रा सुरु गरेका थिए । परशुरामले गढमुक्तेश्वर धामबाट गंगाको पानी ल्याएका थिए र यूपीको बागपत नजिकै रहेको ‘पुर महादेव’ लाई गंगाको जलले अभिषेक गरेका थिए।

त्यतिबेला साउन महिना थियो । त्यसपछि नै यो बोलबम यात्रा सुरु भयो । आज पनि यो प्रथाको पालना भैरहेको छ । गढमुक्तेश्वर धामबाट लाखौं भक्तजनले गंगाजल लिएर पुरा महादेवमा जल अर्पण गर्छन् ।

रामायणमा उल्लेख भएअनुसार भगवान रामले पनि बोलबमको यात्रा पूरा गरेका थिए। भगवान रामले बिहारको सुल्तानगञ्जबाट गंगाको पानी भरेर देवघरको वैद्यनाथ ज्योतिर्लिङ्गमा अभिषेक गरेका थिए। त्यतिबेला साउन महिना थियो ।

कतिपय प्राचीन ग्रन्थमा रावणलाई प्रथम बोलबमका रूपमा वर्णन गरिएको छ । समुद्र मन्थनका क्रममा भगवान शिवले हलाहल विष पिएपछि भगवान शिवको घाँटी नीलो भयो र त्यसपछि उनलाई नीलकण्ठ भनिन्छ।

हलाहल विष सेवन गरेपछि नकारात्मक शक्तिले भगवान नीलकण्ठलाई घेरेको थियो । त्यसपछि रावणले महादेवलाई नकारात्मक ऊर्जाबाट मुक्त गर्न ध्यान गरे र गंगा जल भरेर ‘पुर महादेव’ अभिषेक गरे, जसले महादेवलाई नकारात्मक ऊर्जाबाट मुक्त बनायो । त्यसैबेलादेखि बोलबम यात्राको चलन पनि सुरु भयो ।

त्रेतायुगमा पहिलो पटक श्रवणकुमारले बोलबम यात्रा सुरु गरेको विश्वास छ । श्रवण कुमारले आफ्ना दृष्टिविहीन आमाबुवालाई तीर्थयात्रामा लान एउटा विशेष तराजु बनाएका थिए ।

श्रवण कुमारका आमाबुवाले हरिद्वारमा रहेको गंगामा नुहाउने इच्छा व्यक्त गरे पछि आमाबुवाको इच्छा पूरा गर्न श्रवणकुमारले उनीहरुलाई हरिद्वार लगेर गंगामा स्नान गराए । फर्कने क्रममा उनले गंगा जल पनि ल्याए । त्यहिबेलादेखि बोलबम यात्रा सुरु भएको पनि बताइन्छ ।

महादेवले समुद्र मन्थनका क्रममा हलाहल विष सेवन गरेपछि उक्त विषको प्रभाव हटाउन पवित्र नदीको जल भगवान शिवलाई अर्पण गरिएको जनविश्वास रहदै आएको छ ताकि जतिसक्दो चाँडो विषको प्रभाव कम गर्न सकियोस् ।

सबै देवता मिलेर गंगा नदीबाट जल ल्याए र भगवान शिवलाई अर्पण गरे। त्यतिबेला साउन महिना चलिरहेको थियो । त्यसबेलादेखि नै बोलबम यात्रा सुरु भएको विश्वास छ।

विशेषगरी महिलाले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस पटकको साउन महिनामा ४ वटा सोमबार परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds